FLASH NEWS
  • Loading...

पाउरोटीको मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११२ पटक पढिएको
पाउरोटीको मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

खार्तुम  ।  सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ ।

मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ । खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरू सहभागी भएका छन् ।

गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरूलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । यसैगरी चिकित्सकहरूद्धारा प्रकाशित विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत गरेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूले अन्य असी जना पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भैरहेको जनाएका छन् । अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रुपमा लिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित