FLASH NEWS
  • Loading...

डीएनएका लागि रगत संकलन गर्दा निर्मला पन्तकाे परिवारमा विवाद

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०३ पटक पढिएको
डीएनएका लागि रगत संकलन गर्दा निर्मला पन्तकाे परिवारमा विवाद

कञ्चनपुर । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद  भएको छ । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो ।
परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाएका हुन् । निर्मलाकी आमाले डीएनएका लागि बुधबार रगत संकलन गरेको विषयलाई लिएर घरमा विवाद भएको दुर्गादेवीले बताइन् । उनले राहतको विषयमा पनि परिवारमा द्वन्द्व भएको बताइन् ।
निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएकी थिइन् ।डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताइन् । ‘निर्मलाको स्वाबमा भएको डीएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ’, उनले भनिन्, ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरेँ ।’

रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमानले हातपात गरेको दुर्गादेवीले बताइन् । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताइन् ।छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उनले बताइन् ।तर, आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुबाले भने असन्तुष्टि जनाएका छन् । ‘छोरीले लामो समय बितिसक्दा पनि न्याय पाएकी छैन । अब आन्दोलन पनि सेलाउँदै गएको छ’, दुर्गादेवीले भनिन् ‘त्यसैले मैले धर्ना बस्नुको कुनै अर्थ छैन । बरु राहतको रकम बुझेर सरकारलाई अनुसन्धानका लागि सहयोग गर्नुपर्छ भन्ने सोचेँ । ’ आफूले राहत रकम बुझ्न खोज्दा श्रीमान र सौताले आफूमाथि नै छोरीको हत्या गरेको आरोप लगाएको पनि दुर्गादेवीले गुनासो गरिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित