FLASH NEWS
  • Loading...

भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १७१ पटक पढिएको
भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज । भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ ९पुस १०० भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले भने, “गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा केही मात्रामा गहुँखेती भने प्रभावित भएको छ ।”

भारतीय पक्षले ८५० क्युसेकमध्ये यसवर्ष नहरमा ५४० क्युसेक मात्र पानी छाडेकाले उक्त पानी पर्सा र बारामा हुने गहुँखेतीका लागि मात्र पुग्ने तथा आवश्यक भएको खण्डमा मात्र रौतहट जिल्लामा छोडिने डिभिजन प्रमुख साहको भनाइ छ । “मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा समयमा पानी नछाड्दा गहुँखेती राम्रोसँग गर्न सकिएको छैन”, किसान शेषमन पण्डितले भने, “आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरूपमा गहुँखेती गर्न सकिएको छैन ।”

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहुँखेती गरेको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएका छन् । भारतीय पक्षले नेपाल तर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्दछ । गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहट जिल्लाका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाएको गहुँखेती यसवर्ष ढिलो हुने किसानको ठम्याइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित