- Loading...
स्ववियु निर्वाचन प्रक्रिया सुरु
- गोल्डेन खबर
- ७ साल अघि
- १३६ पटक पढिएको
काठमाडौं—त्रिभुवन विश्वविद्यालय(त्रिवि) अन्र्तगतका क्याम्पसमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
निर्वाचन कार्यतालिकानुसार आइतबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी गराइन् । उनका अनुसार निर्वाचनका लागि आइतबार देशभरका त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् ।
कार्यतालिकानुसार मंगलबार अपराह्न १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध गर्ने र दाबी विरोधमाथि छानबिन गरी मंगलबार नै साँझ ५ बजेसम्म अन्तिम नामावाली प्रकाशन गरिने छ ।
यसैगरी फागुन ४ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिने, फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गरिने, फागुन ५ गते अपराह्न ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने र फागुन ६ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गरिने कार्यतालिका छ । कार्यतालिकानुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने, फागुन ८ गते अपराह्न ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिइने र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तथा फागुन १४ गते मतदान हुने डा त्रिपाठीले जानकारी गराइन् ।
त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले दुई पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थीको विवादका कारण हुन सकेको थिएन । निर्वाचनमा सहभागी विद्यार्थी संगठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा संघसंगठन दर्ता गराउने अन्तिम मिति तोकिएको छ ।