- Loading...
लेखा समिति : वाइड बडी जहाज खरिदमा त्रुटि
- गोल्डेन खबर
- ६ साल अघि
- १०९ पटक पढिएको
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरिद प्रक्रियामा त्रुटि औंल्याएको छ। समितिको सिंहदरबारमा बसेको बैठकमा निगमले केही महिनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र संस्थाको खरिद विनियमावली विपरीत काम भएको जनाएको हो।
निगमको जहाज खरिद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टीकरण लिएको छ। समितिका सभापति भरत शाहले निगमको जहाज खरिदप्रक्रियामा महालेखापरीक्षकको ५५ प्रतिवेदनले त्रुटि औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि बैठकमा विषय प्रवेश गराइएको बताए।
पुरानो जहाज किन्न टेन्डर निकालेर नयाँ किन्नु कानुनविपरित रहेको भन्दै उनले भार क्षमता कमजोर हुनु र एयरबससँग नकिनी अर्कै पाटीसँग खरिद गरिनुले अनियमितताको प्रशस्त आशंका जन्माएकाले यो विषयको गहन अध्ययन र छलफल गरी टुंगोमा पुगिने धारणा राखे।
समितिले जहाज खरिद प्रक्रियामा अनियमितता भएको प्रश्न उठाइरहँदा निगमका पदाधिकारीले भने आफ्नो बचाउ गर्दै जहाज खरिद कानुनबमोजिम भएकाले कुनै अनियमितता नभएको जवाफ दिएका छन्। निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको विनियमावली, सार्वजनिक खरिद प्रक्रिया अनुरुप जहाज खरिद गरिएको र यसमा कुनै अनियमितता नभएको बताए।
निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले जहाज खरिदसम्बन्धमा सत्य, तथ्य छानबिन गर्न आफूहरूको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। समितिका अधिकांश सदस्यले जहाज खरिदमा कमिसनको खेल र मोटो रकम हिनामिना भएको भनी उठाएको प्रश्नको जवाफ दिँदै महाप्रवन्धक कंसाकारले जहाज खरिदमा १०० प्रतिशत भ्रष्टाचार छैन भन्दै खरिदको टेण्डर गर्दा बोइङभन्दा एयरबस सस्तो परेकाले जहाज ल्याइएको बताए।
कंसाकारको जवाफमा चित्त नबुझेपछि समितिका सदस्य डा। मीनेन्द्र रिजाल र हृदेश त्रिपाठीले वाइड बडी खरिद प्रक्रियामा संलग्न पदाधिकारीको अनियमितता रहेको भन्दै उपसमिति गठन गरेर छानबिन अघि बढाउनुपर्ने माग गरे। यसअघि बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वाइड बडी जहाज खरिद प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो। निगमको पहिलो वाइड बडी जहाज असार १४ गते र दोस्रो जहाज साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। समितिको अर्को बैठक मंसिर १२ गते पुनः बस्ने छ।