- Loading...
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा
- गोल्डेन खबर
- ७ साल अघि
- १०० पटक पढिएको
काठमाडौ,२६ कात्तिक । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड गएराति साढे ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । यो सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको हो ।
सबै चट्टान फोरेर हटाउन नसक्दा शनिबार दुईतर्फी गाडी सञ्चालन गर्न नसकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले बताए । हिजो बिहानैदेखि रोकिएका मोटरसाइकल र साना गाडीहरु रातिदेखि गन्तव्यतर्फ पठाईएको छ । ठुला गाडी छिर्न अझै केही ढुंगा पन्छाउनुपर्ने भएकाले रातिदेखि मात्रै सकिने आयोजनाले जनाएको छ ।
सार्वजनिक सूचना जारी गरेर हिजो बिहान १० देखि ५ बजेसम्म सडक बन्द गरी चट्टान हटाउने कार्य गरिएको आयोजनाले जनाएको थियो । निर्धा्रित समयमा काम नसकिंदा सडकको दुईतर्फ नै विहानदेखि रोकिएका सयौँ सवारी तथा यात्रुहरु दिनभर प्रभावित भएका थिए । यात्रुहरुको समस्यालाई ध्यान दिँदै रातिदेखि एकतर्फी सडक खुलाईएको आयोजनाले जनाएको छ ।
दिनभरको प्रयासमा हिजो बेलुका ४ः४५ बजे ढुंगालाई भित्ताबाट बल्ल सडकमा झारिएको थियो । त्यसपछि फुटाएर ढुंगो हटाउने काम सुरु गरिएपनि अझै सकिएको छैन । आजदेखि भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा विचविचमा सडक रोक्दै काम अघि बढाइनेछ ।
आजदेखि एकहप्ता परीक्षण स्वरुप विहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । यो सडकको ३६ किलोमिटर क्षेत्रमा तीन ब्लक छुट्याएर सडक चौडापार्ने काम भइरहेको छ ।