FLASH NEWS
  • Loading...

दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई दिइने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०८ पटक पढिएको
Post Thumbnail


काठमाडौं– दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई दिन अन्तिम तयारी थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेनालाई दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा दिनका निम्ति अन्तिम तयारी थालिएको हो ।
१२ वैशाख २०७२ को भूकम्पले भत्किएको काठमाडौंको दशरथ रंगशाला पुननिर्माण अझै हुन सकेको छैन ।
नेपालले दुई वर्षपछि आयोजना गर्नुपर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि रंगशाला तयार गर्नुपर्ने भएकाले पुनर्निर्माणको जिम्मा सेनालाई दिइन लागिएको हो ।
अहिलेकै गतिमा रंगशालाको पुनर्निर्माण जारी राखे १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सञ्चालन गर्दासम्म पनि नसकिने भएकाले सेनालाई पुनर्निर्माण गर्न दिइन लागिएको खेलकुद मन्त्रालयले जनाएको छ ।
दु्रत गतिबाट रंगशालाको पुनर्निर्माणका लागि सेनालाई जिम्मा दिने विषयमा खेलुकुद मन्त्रालयले प्रस्ताव तयार पारिसकेको छ । अब मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव स्वीकृत गरे सेनाले रंगशालाको पुनर्निर्माण थाल्ने छ ।
मन्त्रालयका अधिकारीका अनुसार रंगशालाको पुनर्निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाली सेनाबीच छलफल चलिरहेको छ । साथै भूकम्पबाट रंगशालामा भएको क्षतिको विषयमा पनि नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।
क्षतिको मूल्यांकन भइसकेपछि राष्ट्रिय खेलकुद परिषद र सेनाबीच रंगशालाको पुनर्निर्माणका लागि सहमति हुने छ । मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गरे सेनाले औपचारिक रुपमा रंगशालाको पुनर्निर्माण थाल्ने छ ।
भूकम्पले देशको एकमात्रै अन्तर्राष्ट्रियस्तरको रंगशालाको अधिकांश भागमा क्षति पुगेको थियो । राष्ट्रिय खेलकुद परिषदले रंगशाला पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) गरेर टेण्डरमार्फत पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरेको थियो । अब उक्त प्रक्रिया स्थगित गरेर पुनर्निर्माणको जिम्मेवारी सेनालाई दिइने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित