- Loading...
सप्तरीमा आधा दर्जन गाउँ डुबानमा
- गोल्डेन खबर
- ७ साल अघि
- ७६ पटक पढिएको
सप्तरी—शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन् ।
खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन् । गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ । बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामान बगाएको राजविराज नगरपालिका वडा नं १० का स्थानियले बताएका छन् ।
सो वडाका डेढसय परिवार बाढीको उच्च जोखिममा छन् । एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २ सय कुखुरा र अन्नपातसमेत बगाएर लगेको छ । मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुदा काम केहि ठप्प भएको छ । बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।
त्यस्तै, रुपनी गाउँपालिका– २ मा बाढी पस्दा १ सयघर डुबानमा परेका छन् । स्थानीयको खेतबारी बगाउनुका साथै पानी बस्तीमा छिरेकाले सुरक्षित स्थानमा स्थानिय लागेका छन् ।
गत वर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्सदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको उनको भनाइ छ । त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेका छन् । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका एकहजार ५ सय परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको जानकारी गराए । उनले बाढीबाट जोगाउन ठाउँठाउँमा अस्थायी बाँध बनाउने काममा प्रहरी खटिएको जानकारीसमेत दिए । उनले स्रोतसाधनले भ्याएसम्म बाढीबाट हुने सम्भावित क्षति रोक्न आवश्यक सबै पहल थालिएको जनाए ।
त्यस्तै जिल्लाको लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको मृत शरीर प्रहरीले फेला पारेको छ । पहिचान खुल्न नसकेको मृतकबारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए । सडेगलेको अवस्थामा फेला परेको उक्त शव हत्या हो वा प्राकृतिक दुर्घटना हो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई केन्द्रित गरिरहेको उनले बताए ।
त्यस्तै जिल्लाको रुपनी गाउँपालिकाका बासिन्दाले यथाशीघ्र आफूहरुलाई सुरक्षित र भयमुक्त वातावरण बनाउन प्रशासनसँग माग गर्दै रुपनी–राजविराज सडकखण्ड अवरुद्ध पारेका छन् । वर्षायाममा प्रत्येक वर्ष बाढीका कारण ठूलो क्षति ब्यहोर्नुपर्दा पनि प्रशासनले दीर्घकालीन समाधान खोज्न नसकेकाले विरोधस्वरुप चक्काजाम गरिएको स्थानीयको भनाइ छ ।