FLASH NEWS
  • Loading...

अल्लोको कपडा उत्पादनबाट सक्षम बन्दै रुकुमका महिला

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail

रुकुम- जेठ । भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ ।

आफ्नो कुनै पेसा नहुँदा दिनभर फुर्सदमा हुने उहाँलाई यो चटारोले छोएको करिब दुई वर्ष भयो । अल्लोको धागो उत्पादनको कच्चा पदार्थको जोहो गर्ने, धागो बनाउने र कपडा बुन्ने काममा उहाँ दैनिकजसो व्यस्त हुनुहुन्छ ।

भुमे गाउँपालिका–४ स्थित तल्लो साकिममा रहेको झुङलुङ सामुदायिक वनमा पाइने अल्लोको उपयोग गरी यहाँका महिलाले अल्लोको धागो तथा कपडा बनाउने उद्योग स्थापना गरेपछि उद्योगमा कार्यरत सातजना महिलालाई भ्याइनभ्याइ छ ।

उद्योगमार्फत महिलाले राम्रो रोजगारी पाएका मात्र छैनन् समाजमा उदाहरणीय समेत बन्दै गइरहेका छन् । अहिले जिल्लामा अल्लोको कपडाको मूल्य प्रतिमिटर रु ८०० छ भने धागो किलोको रु एक हजार २०० मा बिक्री हुने गरेको छ । उद्योगमार्फत वन समूहमा आबद्ध सातजना महिलाले नियमित रोजगारी पाइरहनुभएको छ ।

उद्योग तथा वन समूहकी अध्यक्ष पनि रहेकी बुढा उद्योगमार्फत आत्मसम्मानमा वृद्धि हुने, रोजगारी सिर्जना हुने र जीविकोपार्जनमा सहयोग भएको बताउनुहुन्छ । उहाँहरुका अनुसार मासिक रु दशहजारदेखि २० हजारसम्म रकम आम्दानी हुने गरेको छ । छोटो समयमा नै उद्योगले राम्रो प्रगति गरेकाले यसैलाई नै पेसा बनाएको बुढाले बताउनुभयो ।

उत्पादित धागो स्थानीय बजारमा मात्र पठाउन सकिएको उहाँको भनाइ छ । अल्लोको कपडा र धागोको माग मुलुकका ठूला सहर र सदरमुकाममा भएपनि मागअनुसार पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । कच्चा पदार्थ प्रशस्त मात्रामा वनमै पाइने भएकाले पनि उद्योगलाई समस्या नभएको बुढाको भनाइ छ ।

जिल्ला वन कार्यालय र बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालले उद्योग सञ्चालनका लागि महिलालाई निःशुल्क तालिम र दुईवटा तान निःशुल्क प्रदान गरेको थियो ।

तालिम र उद्योगको लागि चाहिने सामग्री पाएपछि आफूहरुको आत्मविश्वास बढेको र उद्योग सञ्चालन गर्ने जाँगर पलाएको बुढाको भनाइ छ । दुईवटा मेसिनले उत्पादन गरेको सामग्रीले माग धान्न गाह्रो परिरहेकाले थप तान थपी उद्योगलाई अझ ठूलो लगानी र क्षमताको बनाउँदै लैजाने योजना महिलाको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित