- Loading...
एकल महिलाको भवनमा डोजर
- गोल्डेन खबर
- ७ साल अघि
- १०६ पटक पढिएको
रोल्पा ७ जेठ । सदरमुकाम लिवाङस्थित मानव अधिकारका लागि महिला एकल महिला समूहको पक्की भवन डोजर लगाएर भत्काइएको छ ।
तत्कालीन जिविस रोल्पाको रु चार लाख, एकल महिलाको मासिक बचत सङ्कलनबाट उठेको रकम तथा एकल महिलाको जनश्रमदानसमेत गरी रु सात लाख ५० हजारको लागतमा निर्मित सो भवन जबर्जस्ती भत्काइएको समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो
साबिक लिवाङ गाविससँग मौखिक सम्झौता गरी सो भवन बनाइए पनि नगरपालिका बनेपछि भवन भत्काउन जबर्जस्ती आदेश दिइएको आचार्यले बताउनुभयो । वडा कार्यालय बनाउने भन्दै सो भवन डोजर लगाएर भत्काइएको समूहले जनाएको छ । भवनमा एकल महिलाको लगानीमा चमेना घर र कार्यालय सञ्चालन हँुदै आएको थियो ।
नगरपालिकाले सो भवन भत्काएको नभई १५ दिने सूचना प्रकाशन भएपछि एकल महिलाले आफँै भवन भत्काएको नगरपालिकाका कार्यकारी अधिकृत कमानसिं थापाले बताउनुभयो । “सम्झौताबिना नै आफ्नो जग्गामा भवन बनाएको देखिएकाले सो भवन भत्काउन सार्वजनिक सूचना गरेका हाँै” थापाले भन्नुभयो । एकल महिलाले भवन बनाएको स्थानमा आफूहरुले वडा कार्यालय बनाउन लागेका कारण भवन भत्काउनुपरेको थापाले जानकारी दिनुभयो ।
समूहले घडेरीको व्यवस्था गरेमा नगरपालिकाको आर्थिक सहयोगबाट सानो भवन बनाउन सहयोग गर्न सकिने थापाले बताउनुभयो । समूहसँग बसेर सल्लाह गरेर भवन भत्काइएको नेपाली काँग्रेस नगर संयोजक चन्द्रप्रकाश आचार्यले बताउनुभयो । नगरपालिकाको पुरानो भवनमा तत्कालका लागि कार्यालय सञ्चालन गर्ने सहमतिअनुसार भवन भत्काइएको उहाँले बताउनुभयो । जग्गा खोजेमा आगामी आवको बजेटबाट रु ५० लाख सहयोग गरी भवन बनाइदिने सहमति समेत भएको आचार्यले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष पूर्णबहादुर केसीले समूहको कार्यालय सञ्चालनको वैकल्पिक व्यवस्थाका लागि सहयोगका साथै सम्बन्धित निकायमा समन्वय गरिने बताउनुभयो ।