FLASH NEWS
  • Loading...

सीमा क्षेत्रमा अवाञ्छित गतिविधि रोक्न नेपाल–भारत सहमति

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail

इटहरी, २१ चैत । सशस्त्र प्रहरी बल बराह बाहिनी, पकली मुख्यालय, इटहरी र भारतको सीमा सुरक्षा बल, सिलिगुडी र सिक्किमबीच आज इटहरीमा सम्पन्न भएको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिलाई मिलेर नियन्त्रण गर्ने विषयमा सहमति गरेको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक र भारतका समकक्षी उच्च प्रहरी अधिकृतबीच हरेक चार महिनामा गरिँदै आएको बैठकअन्तर्गत आज भएको बैठकले नेपालमा निकट समयमा नै हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने विषयमा सचेतनापूर्वक काम गर्ने पनि सहमति बनेको सशस्त्र प्रहरी बल बराहबाहिनी मुख्यालय पकलीका प्रमुख जानकीराज भट्टराईले पत्रकार सम्मेलनमा बताउनुभयो ।

बैठकले दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिसँगै अवैध हातहतियार ओसारपसार लागुऔषधको कारोवार तथा राजनीतिक वृत्तमा गरिने गलत क्रियाकलापलाई समेत दुवै देशको सुरक्षा निकायबीच नियमित संवाद एवम् सम्पर्क स्थापित गरेर त्यस्ता अवाञ्छित कार्य रोक्न भरभग्दुर प्रयास गर्ने पनि सहमति भएको उहाँले बताउनुभयो ।

बैठकमा कुनै पनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई दुवै देशका सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलको सहकार्यमा नियन्त्रण गरिने र त्यसका लागि दुवै देशका सुरक्षा अधिकारीबीच निरन्तर सञ्चार सम्पर्क कायम राख्ने विषयमा पनि सहमति बनेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा सिलिगुडीका सीमा सुरक्षा बलका प्रहरी नायब महानिरीक्षक बन्धन सक्सेनाले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई मिलेर नियन्त्रण गर्ने तथा सीमा स्तम्भलाई चुस्त दुरुस्त राखी जीर्ण भएका सीमा स्तम्भको मर्मतमा समेत विशेष ध्यान दिने सहमति भएको बताउनुभयो ।

सोही अवसरमा सिक्किमका एसएसबी प्रहरी नायव महानिरीक्षक विश्वजितकुमार पालले नेपाल र भारतबीचको सदियौँदेखिको दौत्य र पारस्परिक सम्बन्धमा खलल पु¥याउने कुनै पनि गतिविधि दुवै देशका सुरक्षा निकायका लागि सह्य नहुने बताउनुभयो ।

साथै बैठकले सीमा क्षेत्रमा हुने गरेको मानव तस्करी तथा गैरकानुनी मानव ओसारपसार जस्ता गतिविधिलाई मिलेर रोक्ने तथा नेपालका तर्फबाट जुनकुनै विषयमा सघाउका लागि आग्रह गरिएमा जस्तो सुकै समस्यालाई पनि मिलेर नै समाधान गर्ने बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

सो अवसरमा भारतको विहारमा बसेर शान्ति सुरक्षामा चुनौती दिँदै आएका जयकृष्ण गोइतको गतिविधिलाई तत्काल नियन्त्रण गर्ने विषयमा पनि दुवै देशको सुरक्षा निकायले कडाइकासाथ कार्य थालनी गर्ने पनि सहमति भएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित