FLASH NEWS
  • Loading...

कृषि पेसामा अवकाशप्राप्त सैनिक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०२ पटक पढिएको
Post Thumbnail

म्याग्दी, १७ चैत । कृषिको पर्याप्त सम्भावना देखेपछि अवकाशप्राप्त सैनिक र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेसामा लागेका छन् ।

उनीहरु पशुपालन, तरकारीखेती र फलफूलखेती गरी दूध, तरकारी र फलफूल उत्पादन गर्न जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न उनीहरु कस्सिएका छन् ।

बेनी नगरपालिका बास्कुनाका तिलक गुरुङले भैँंसीपालन र तरकारीखेतीबाट सुरु गरेको अभियान अहिले गाउँभरी विस्तार भएको छ । वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनमार्फत वार्षिक रु १२ लाखसम्म कमाइ गर्न थालेका छन् । “विदेशको भन्दा बढी कमाइ गर्न थालेका छौँ,” गुरुङले भन्नुभयो । गाउँमा अहिले सबैले पशुपालन, तरकारीखेती, फलफूलखेती, कुखुरापालन गर्दै आएका छन् ।

यसैगरी ६ वर्षसम्म कतारमा बसेर फर्केका मनबहादुर खत्री गाउँमै पशुपालन, फलफूलखेती र तरकारीखेतीमा लाग्नुभएको छ । पाँचवटा उन्नत जातका भैँसी तथा फलफूलखेती गर्नुभएका खत्रीले मासिक रु ५० हजार कमाइ गर्नुहुन्छ ।

यस्तै ६ वर्ष दुबई र तीन वर्ष मलेसियामा बसेर फर्केका नरबहादुर केसी, १३ वर्ष साउदी अरब बसेर फर्केका भीम गुरुङ, भारतीय सेनाबाट अवकाशप्राप्त लालबहादुर थापालगायत २२ जना पूर्व लाहुरे अहिले गाउँमै पशुपालन र तरकारीखेतीमा लाग्नुभएको छ । उनीहरुले पशुपालन, तरकारीखेती र फलफूल खेतीबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

तीन वर्षअघि रु आठ लाखको लगानीमा तरकारीखेती, कुखुरापालन र भैँसीपालन सुरु गरेका तिलक गुरुङ लगानी र सम्पूर्ण खर्च कटाएर अहिलेसम्म रु २० लाखभन्दा बढी बचत गरेको बताउनुहुन्छ । यहाँका ४५ घरधुरीले कृषि र पशुपालनवाट गरेको प्रगति देखेर छिमेकी गाउँका युवा समेत त्यसतर्फ आकिर्षत भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठ गुजारा चलाउन विदेश जाने लर्को लागिरहेका बेला बास्कुनाका युवा सबैका लागि प्रेरणा बनेका बताउनुहुन्छ । गाउँमा सबैलाई आत्मनिर्भर बनाउन बास्कुना र थामडाँडाका कृषक मिलेर कृषि सहकारी समेत स्थापना गरेका छन् । उनीहरु बास्कुना गाउँलाई ‘फुड एन्ड मिल्क भिलेज’ बनाउन कम्मर कसेर लागेका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित