FLASH NEWS
  • Loading...

ट्रम्पका विशेष दूतले मस्कोमा पुटिनसँग गरे चार घन्टा छलफल

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ४३ पटक पढिएको
ट्रम्पका विशेष दूतले मस्कोमा पुटिनसँग गरे चार घन्टा छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

शुक्रबार मस्कोमा विकटकफले पुटिनसँग चार घन्टा वार्ता गरेको रूसी सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

क्रेमलिन र रूसी सञ्चारमाध्यमहरूले वार्ता सकारात्मक भएको जनाएको छ। तर के-के विषयमा कुन तहको कुराकानी भयो भन्ने विषय ठोस रूपमा सार्वजनिक भएको छैन।

पुटिनले छलफलमा आफ्ना सहयोगी किरिल दिमित्रिएभलाई पनि राखेका थिए।

उनीहरूबीच वार्ता युक्रेन युद्ध र सम्भावित युद्धविरामका विषयमा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

क्रेमलिन स्रोतका अनुसार, वार्तामा युक्रेन सङ्कटको समाधान, ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्ने प्रस्ताव र समग्रमा रुस–अमेरिका सम्बन्धको भविष्यबारे छलफल भएको थियो।

वार्ताले कुनै निष्कर्ष वा सहमति भने निकालेको छैन।

अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविरामका लागि राखेको प्रस्तावलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अनुमोदन गरिसकेका छन्।

यद्यपि रूस भने अस्थायी युद्धविराम गर्ने पक्षमा छैन। उसले तीस दिनसम्म युक्रेनमा आक्रमण रोके युक्रेनले अन्य रणनीति बनाउने र वार्तामा अहिलेको भन्दा ठूलो माग राख्न सक्ने बताउँदै आएको छ।

बरू युक्रेनको ऊर्जा संरचनामा आक्रमण नगर्ने प्रस्ताव रूसले राखेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रूसले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि पुटिनसँग चिढिएका छन्। उनले युद्धविराम प्रस्ताव स्वीकार नगरे रूसमाथि प्रतिबन्धहरू अझै कडा बनाउने चेतावनी दिएका छन्।

रूसलाई मात्रै होइन रूसी उत्पादन आयात गर्ने देशहरुमाथि पनि विभिन्न खालका प्रतिबन्धहरू लगाउने चेतावनी दिएका थिए।

रूसबाट भारत लगायत विभिन्न देशहरूले तेल किन्छन्। दोस्रो मुलुकहरूले तेल नकिनिदिए रूसी अर्थतन्त्र खस्किने र रूसले हतियारमा धेरै खर्च गर्न नपाउने र युद्धविरामका लागि सहमत हुनसक्ने अमेरिकाको आकलन छ।

पुटिनले युक्रेनमा युद्ध नरोके अथवा युद्धविरामका लागि सहमत नभए उमाथि दबाब सिर्जना गर्न कडा प्रतिबन्धहरू लगाउने विषयमा युरोपेली मुलुकहरूले छलफल गरिरहेका छन्।

रूसले युक्रेनलाई नेटो सदस्यता दिन नहुने, युक्रेनको सैन्य आकार सिमित गरिनुपर्ने र अहिले रूसले नियन्त्रणमा लिएको तर पूर्ण रूपमा कब्जा नगरिसकेको युक्रेनी भूभागहरु पाउनुपर्ने प्रस्ताव राखेको छ।

यसअघिका साउदी अरेबियामा भएको वार्तापछि अमेरिकी अधिकारीहरूले युद्धविरामका लागि युक्रेनले आफ्नो भूभागहरू गुमाउनुपर्ने पनि हुनसक्ने बताएका थिए। त्यसका लागि युक्रेन तयार हुनुपर्ने पनि वार्तामा सहभागी अधिकारीहरुले बताएका थिए।

  • 2
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित