FLASH NEWS
  • Loading...

भारतले माफी माग्नैपर्छ –अध्यक्ष ओली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०४ पटक पढिएको
Post Thumbnail


चितवन– कञ्चनपुर घटनामा भारतले नेपालसमक्ष माफी माग्नै पर्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीले धारणा राखेका छन् ।
शनिबार एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कञ्चनपुर घटना भारतको बलियो छु भन्ने घमण्डको दम्भका कारण भएको भन्दै भारतले अन्तर्राष्ट्रिय कानुन मान्नुपर्ने हुनाले उसले नेपालसमक्ष माफी माग्नैपर्ने माग गरे । कार्यक्रममा अध्यक्ष ओलीले अर्को मुलुकको सीमानामा पस्न नपाइने भन्दै भने, ‘अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ ।’
खाली हात आफ्नो सीमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उनले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताउँदै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि माग गरे । यो देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उनले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउनु पर्ने बताए ।
अध्यक्ष ओलीले सप्तरी घटनाका सन्दर्भमा सरकारप्रति आक्रमक बन्दै सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाएका छन् । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उनले एमाले हिंसामा नजाने तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम पनि उस्तै हुने बताए ।
उनले एमाले मर्नु परे मरौंला तर यो देश बनाएर छाड्छौँ भनेर हिँडिरहेको भन्दै भने, ‘सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ ।’
उनले एमालेको अभियानलाई कसैले अवरोध गर्दैमा पार्टीको अभियान नरोकिने भन्दै जारी मेची–काली अभियानमा जनलहर थप बढेको दाबी गरेका छन् । उनले एमालेसँग पूर्व–पश्चिम रेल कुदाउने र देशलाई विकास गर्ने योजना रहेको दाबी गर्दै सर्वसाधारणलाई प्रभावमा पार्ने प्रयास गरे । उनले हरेक प्रदेशमा विश्वविद्यालय र मेडिकल कलेज बनाउने योजना पनि एमालेसँग रहेको दाबी गरेका छन् ।
सोही सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पंक्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताएका छन् । एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेसमा फैलाइएको भ्रम चिर्नेमात्रै भएको बताए । सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको उनको आरोप छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित