कुलमान घिसिङलाई हटाउन खोजेकोमा गगन थापाको असन्तुष्टि

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ९ पटक पढिएको
कुलमान घिसिङलाई हटाउन खोजेकोमा गगन थापाको असन्तुष्टि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाका विषयमा भइरहेको विवादप्रति असन्तुष्टि जनाएका छन्।

शनिबार कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ को सम्मेलनमा बोल्दै थापाले एउटा व्यक्तिका विषयमा सरकार नै वाद विवादमा उत्रिएको विषयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक-पटक स्पष्टीकरण सोधेको थियो भने हालै मन्त्रिपरिषदले पनि स्पष्टीकरण सोधेको छ।

त्यस्तै काठमाडौं महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको विषयमा सरकार र महानगरबीच विवाद देखिएको छ।

यी सबै विषय बदनियत हो कि ढङ्ग नपुगेको हो भन्ने विषय आफूले नबुझेको महामन्त्री थापाले बताए।

`सरकारमा बस्नेले कि राम्रो गर्नुस् नभए नराम्रो नगर्नुस्।५० वटा राम्रो काम भएको बेला एउटा नराम्रो काम भयो भने हामीलाई दु:ख लाग्छ। नराम्रो कामले राम्रो काम पनि छोपिन्छ। उर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ अर्को प्रमुख प्रशासकीय अधिकृत प्रकरण छ। मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढङ्ग नपुगेको बेढङ्ग हो,´ उनले भने।  

कुलमान घिसिङको कार्यकाल सकिन धेरै समय नभए पनि सरकारले हटाउन खोजेकोमा महामन्त्री थापाले असन्तुष्टि पोखे।

`तीन-चार महिनामा सेवा निवृत्त हुने, सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने, सरकार नै एउटा व्यक्तिको पछि लागेको देखिन्छ, किचकिच गरिरहेको देखिन्छ´, महामन्त्री थापाले भने, `यस्तो कुरा ठिक होइन, उपयुक्त हुँदैनन्। यस्ता नचाहिँदा काममा कोहि मन्त्री पनि लाग्न हुन्न, मन्त्रीहरु नचाहिँदा काममा लागे रोक्ने काम प्रधानमन्त्रीको हो।´

  • 2
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित