- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
- गोल्डेन खबर
- २ हप्ता अघि
- ३१ पटक पढिएको

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ।
सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रूपैयाँ आम्दानी गरेको छ।
विद्युत खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरू लगायतमा जम्मा ५९ अर्ब आठ करोड रूपैयाँ खर्च गरिएको छ।
यसरी, चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रूपैयाँ हुने प्राधिकरणले जनाएको छ।
आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ।
गत आर्थिक वर्ष २०८०–८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरूमा लगानी गरिरहेको जनाएको छ।
प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रूपैयाँ संकलन गरेको छ।
यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरूबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ।
खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रूपैयाँ रकम भुक्तानी भएको उल्लेख छ।
भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी एक अर्ब ६५ करोड रूपैयाँ भुक्तानी गरिएको छ।
गत साउनदेखि पुससम्ममा एक अर्ब ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रूपैयाँ आम्दानी गरिएको छ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फबाट १३ अर्ब ३५ करोड रूपैयाँ खर्च गरिएको छ।
वैदेशिक सहायता सोझै भुक्तनीतर्फ १० अर्ब ४९ करोड रूपैयाँ खर्च भएको छ।