- Loading...
घर ढलानको पूजामा बालेको धूप सल्किर लागेको आगोले तीन पसल नष्ट
- गोल्डेन खबर
- ७ महिना अघि
- १२९ पटक पढिएको
काठमाडौं । सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा घर ढलान गर्न पूजा गरेको धूपबाट आगो सल्किएर आज तीनवटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ।
आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुईवटा पसल जलेको छ। प्रहरीका अनुसार मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको छ ।
साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उनको औषधि पसल र जुत्ता–चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ।
आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ। साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो। पूजामा धूप बालेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो सल्किएको हो।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।
स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो। समयमै आगो निभाउन सकिएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ।