FLASH NEWS
  • Loading...

कर छलीको अनुसन्धानमा तानियो ठमेलको एलओडी नाइट क्लब

  • गोल्डेन खबर
  • १ साल अघि
  • २४० पटक पढिएको
कर छलीको अनुसन्धानमा तानियो ठमेलको एलओडी नाइट क्लब

काठमाडौं_ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।

क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टी गरे । ‘ठूलो करछलीको सूचना पछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएका छौं,’ विभागका महानिर्देशक नवराज ढुंगानाले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ ।

एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको छ । सबैभन्दा धेरै कारोबार हुने भनिएको शुक्रबार एलओडी नाइट क्लबको वास्तविक ग्राहक र कर दाखिला प्रक्रिया सबै बुझ्न लामो अप्रेशन चलाइएको विभागले जनाएको छ ।

फरक क्षेत्रमा हुने कर छलीका घटनामा विभागले सूक्ष्म निगरानी र आक्रामक अभियान सुरु गरेको पनि विभागका महानिर्देशक ढुंगानाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित