FLASH NEWS
  • Loading...

वडाध्यक्ष गुरूङको राजीनामा माग्दै एमालेले लगायो ताला

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३२ पटक पढिएको
वडाध्यक्ष गुरूङको राजीनामा माग्दै एमालेले लगायो ताला

काठमाडौं- कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङको राजीनामा माग्दै एमालेले ताला लगाएको छ। एमालेबाट निर्वाचित माछापुच्छ्रे गाउँपालिकाका पूर्वअध्यक्ष कर्णबहादुर गुरूङ, सोही वडाका पूर्ववडाध्यक्ष कृष्ण दवाडी लगायतका टोलीले मंगलबार वडा कार्यालयमा ताला लगाएका हुन्।

पूर्ववडाध्यक्ष दवाडीले वडाध्यक्षले खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको भन्दै ताला लगाएको बताए। उपभोक्ता समितिका अध्यक्ष भण्डारी एमालेकै कार्यकर्ता हुन्। उक्त सडकका लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।

‘वडाध्यक्षले कुटपिट गरेको घटनामा कानुनी कारबाही होस् भनेर दबाब दिन तालाबन्दी गरेका हौं,’ दवाडीले भने, ‘वडाध्यक्षले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्।’ पूर्वाधार विकास कार्यालयले उक्त सडकको नाली बनाउने र जाली लगाउने भन्दै उपभोक्ता समिति गठन गर्न आग्रह गरेको थियो। स्थानीय उपभोक्ताहरूले चैत १४ गते भेला भएर भण्डारीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेका थिए।

वडाध्यक्ष गुरूङले छिटो सम्झौता गरेर बाटोको काम गर्न आग्रह गरे पनि उपभोक्ता समितिले अटेर गरेको र कानुनविपरीत काम गरेको आरोप लगाए।आफूले अध्यक्ष भण्डारीलाई पटकपटक छिटो छरिटो काम गर्न आग्रह गरेको तर कुटपिट नगरेको वडाध्यक्ष गुरूङले बताए। ‘मैले पटक–पटक उहाँलाई छिटो काम गर्नु भनेको हो, तर उहाँले गुणस्तरीय काम गर्नुभएन, समयमा काम पनि भएन,’ उनले भने, ‘कानुनविपरीत उपभोक्ता समितिले ठेक्का लगाएपछि विवाद भएको हो, हातपात गरेको छैन।’

उपभोक्ता समितिका सचिव गिरीधारी गौतमले अध्यक्ष भण्डारीले आफ्नो मान्छेमार्फत् मजदुर ल्याउन ठेक्का दिएको बताए। अध्यक्ष भण्डारीका काका सडक विभागमै कार्यरत छन्। उनै काकामार्फत् ठेक्का लगाएको गौतमले बताए। ‘ठेक्का दिने विषयमा अध्यक्षसँग मेरो पनि विवाद भएको थियो, काम गर्छ भने गरोस् भनेर चुप लागें,’ उनले भने, ‘ठेकदारले समयमा काम नगरेपछि अहिलेको विवाद देखिएको हो।’

वडाध्यक्ष गुरूङले उपभोक्ता समितिले ठेकदारमार्फत् काम गर्दा गाउँपालिकालाई रोयल्टी नतिरेको र खोलामा अवैध तरिकाले डोजर प्रयोग गरेको पनि आरोप लगाएका छन्। उपभोक्ता समितिका अध्यक्ष भण्डारीले आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन्। जाहेरीका विषयमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित