FLASH NEWS
  • Loading...

ओलीद्वारा चितवनको नयाँ बस्तीमा मेसिनबाट धान रोपिने

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९१ पटक पढिएको
ओलीद्वारा चितवनको नयाँ बस्तीमा मेसिनबाट धान रोपिने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । असार १५ मनाउन चितवन आएका ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट धान रोप्ने क्रमको सुरुवात गर्ने छन् ।

बिहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं .२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर १५ असार मनाउने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजाने न्यौपानेले बताए ।

एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले धान रोपाइँको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार करिब ३ विघा जग्गामा धान रोपाइँ गर्ने कार्यक्रम छ । बोरिङ्गबाट तानिएको पानीले खेत भिजाइएको छ । ‘बाउसे, अन्य रोपाहारहरु पनि हुन्छन्, पन्चैबाजा बजाउने, असारे भाका गाउने, लोक दोहोरी सुन्ने रमाउने कार्यक्रम पनि छ’ महासंघका अध्यक्ष दंगालले भने, ‘असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था पनि स्थानीयवासिन्दाले मिलाउनुभएको छ ।’

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया गर्ने र छोटो अनौपचारिक सम्वोधन पनि गर्ने कार्यक्रम तय भएको छ । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको किसान महासंघका अध्यक्ष दंगालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित