FLASH NEWS
  • Loading...

११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको जलहरी पुनर्स्थापित

  • गोल्डेन खबर
  • १ साल अघि
  • २६६ पटक पढिएको
११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको जलहरी पुनर्स्थापित

काठमाडौं -११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनर्स्थापित गरिएको छ। सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए।

सोमबार बिहान २ बजे निकालिएको जलहरी बुधबार साँझ ६ बजेबाट पुनर्स्थापित गर्न सुरू गरिएको थियो। सुनको जलहरी हाल्नकै लागि बुधबार दिउँसैदेखि भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो। मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। पशुपतिमा नियमित आरतीबाहेक अरू पूजाअर्चना पनि भएको थिएन। ‘पहिले राखेझैं गरेर मिलाएर राख्न कालिगढहरूलाई समय लाग्यो। हिजो साँझ ६ बजेबाट राख्न सुरू गरिएको भए पनि आज बिहान ५ बजेमात्रै काम सकियो,’ पशुपति क्षेत्र विकास कोषका एक पदाधिकारीले भने।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो। गर्भगृहबाट सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो। यसको तौल १०६।४३२५ किलो रहेको बताइएको छ।

त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। र, त्यसको परिमाण १।०३५७५ किलो रहेको बताइएको छ। यो सबै परिमाण जोड्दा १०७।४६८२५ किलो हुन्छ। अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन। केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ। पशुपति क्षेत्र विकास कोषले जलहरीमा १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो। त्यसका लागि उसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३।१०० ग्राम शुद्ध सुन खरिद गरेको बताएको छ। त्यसमा तामा २ किलो ८८८ ग्राम, चाँदी १ किलो २५३ ग्राम र जिन्क १२ ग्राम ७५ मिलि ग्राम मिसावट गरिएको उसको भनाइ छ।

२०७८ फागुनमा अदालतको आदेश छल्न छिटो तयार पारी ९६ किलो ८२२ ग्रामको जलहरी हालिएको र त्यसको मुचुल्का तयार गरेको कोषले बताउँदै आएको थियो। रिङ र बाँकी सुनको तौल १० किलो ९७६ ग्राम रहेको उसको दाबी थियो। महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ले यसबारे प्रश्न उठाएको थियो। उसले नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजारमा १०३ किलो ७७३ ग्राम खरिद् गरेको र बाँकी रहेको ७ करोड ८६ लाख ४६ हजार मूल्यको १० किलो ९७६ ग्रामको रिङ्ग बनाउन प्रयोग भएको भनिए पनि पुष्टि हुने विवरण पेश नगरेको बताएपछि प्रकरण चर्किएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित