FLASH NEWS
  • Loading...

सभामुख घिमिरे र ट्युनिसियाका गैर आवासीय राजदूत बिलेलबिच भेटवार्ता

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९९ पटक पढिएको
सभामुख घिमिरे र ट्युनिसियाका गैर आवासीय राजदूत बिलेलबिच भेटवार्ता

काठमाडौं- सभामुख देवराज घिमिरे र ट्युनिसियाका गैर आवासीय राजदूत हयात तालबी ईपी बिलेलबिच भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रवार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको हो ।

सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कूटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । ‘नेपाल र ट्युनिसिया दुवै संयुक्त राष्ट्रसङ्घ, असंलग्न राष्ट्र तथा जी– ७७ का सदस्य छौँ,’ सभामुख घिमिरेले भने, ‘विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न तहमा भ्रमणको आदान प्रदान आवश्यक छ ।’ उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरूमा सहकार्य गर्दै आइरहेको बताए ।

सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा बृहत्तर सहकार्य गर्न सकिने पनि बताए । भेटमा नेपालमा गएको वर्ष भएको तीनवटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसदले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिए ।

ट्युनिसियाका गैर आवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे । ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीय मैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उनले संसदीय कुटनीति विस्तारमा जोड दिए । त्यसक्रममा उनले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित