FLASH NEWS
  • Loading...

मेयर बालेनको निर्देशनले उठेन सिंहदरबारको फोहोर

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०५ पटक पढिएको
मेयर बालेनको निर्देशनले उठेन सिंहदरबारको फोहोर

काठमाडौं । सिंहदरबारभित्रको फोहोर आइतबारदेखि उठाउन रोकिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनले फोहोर उठाउन रोकिएको हो ।

मेयर साहले सुकुम्बासी हटाउने लगायत महानगरको निर्णय कार्यान्वयनमा सघीय सरकारबाट असहयोग भएको भन्दै सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्नुभएको थियो। मेयर साहको फेसबुक स्टाटस र टेलिफोन आदेशपछि महानगरले सिंहदरबारभित्रको फोहोर नउठाइएको हो ।

सिंहदरबार महानगरपालिकाको वडा नम्बर ११ अन्तरगत पर्छ । ११ का वडाअध्यक्ष हिरालाल तण्डुकारले सिंहदरबारको फोहोर नउठेको पुष्टि गर्नुभयो । ‘हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ’ उहाँले भन्नुभयो– ‘सिंहदरबारभित्रको फोहोर बारे वडामा छलफल नभए पनि रोकिएको जानकारी चाहिँ छ ।’

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयरले फोन गरेर सिंहदरबारको फोहोर नउठाउनू भनेपछि रोकिएको बताउनुभयो । ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजान गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानू भनेपछि हामीले रोकेका हौं’ उहाँले भन्नुभयो ।

फोहोर उठाउने ठेक्का लिएको परिवर्तन सेवा प्रालिका सञ्चालक घिमिरेका अनुसार सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर संकलन हुने गरेको छ। सिंहदरबारबाट उठेको फोहोर यसअघि ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरिएको थियो ।

परिवर्तन सेवा प्रालिले शहरी विकास मन्त्रालय अन्तर्गत फोहोर ठेक्कामार्फत सिंहदरबारको फोहोर उठाउँदै आएको थियो । फोहोर उठाउन शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर निर्देशन दिए पनि मेयरले ‘बञ्चरेडाँडामा सिंहदरबारको फोहोर जाँदैन, तपाईंहरुले नउठाउनुस’ भनेपछि आइतबारदेखि फोहोर रोकिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित