- Loading...
एमाले, जसपा र राप्रपाबीच तालमेल, आजै सहमति हुने
- गोल्डेन खबर
- २ साल अघि
- १०३ पटक पढिएको
काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा ) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँगको तालमेल अन्तिम चरण पुरर्याएको छ ।
एमालेले राप्रपालाई झापा १ र काठमाडौं १ को साथै चितवन, रुपन्देही र बाँकेमा १, १ सटि दिएर तालमेल पक्कापक्की गरेको हो । एमालेले सत्ता गठबन्धनमा रहेको जसपालाई पनि आफूतिर तान्न सफल भएको छ । सत्ता गठबन्धनमा २० सिट दाबी गरिरहेको जसपालाई एमालेले २२ सिट दिएर आफूतिर तानेको हो ।
पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिका माहिर खेलाडी मानिन्छन्। ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि कम माहिर खेलाडी होइनन्।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेका बेला जसपा नेता यादवले विहीबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता अगाडि बढाएका छन्। यादव–ओली वार्ताबाट एमाले नेताहरु उत्साहित देखिएका छन्।
एमाले नेताहरुका अनुसार जसपा र एमालेबीच चुनावी तालमेलको ‘फाइनल टच’ आज सहमति हुँदैछ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २० देखि २२ सिटमा सघाउने गरी दुई दलबीच सहमति हुन लागेको हो।
शुक्रबारै दिनभरमा सहमति भइसक्ने ज्ञवालीले नेपालखबरबलाई जानकारी दिए। उनले भने, ‘करिब २० देखि २२ सिटसम्ममा लगभग सहमति भएको छ। सहमति नजिक भएकाले आज दोहोरो दाबी भएका क्षेत्रमा सहमति गरेर फाइनल गर्छौं।’
एमालेको इच्छा पाँचदलीय सत्ता गठबन्धन टुटोस् भन्ने छ। जसपा नेताहरु पनि कांग्रेस–माओवादीले अपमान गरेको भन्दै एमालेसँग मिल्न तयार देखिएका छन्।
पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरियो भने सबैभन्दा बढी खुशी नेकपा एमाले नै हुनेछ। यही कारण एमाले नेताहरु उपेन्द्र यादवका लागि बालकोटमा रातो कार्पेट ओछ्याउन तयार भएका हुन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड उपेन्द्र यादवलाई फकाउन दसैं नभनी खटिरहेकै छन्। टीकाका दिनसमेत बालुवाटारमा जसपा नेतालाई बोलाएर फकाउने प्रयास गरिएको थियो। तर, जसपाले भने एमालेसँग समेत तालमेलका लागि सम्वाद अगाडि बढाइसकेको अवस्था छ।
जसपाका एक नेताले भने, ‘हामीले गठबन्धनमा सम्मानजनकरुपमा सिट बाँडफाँट गरियोस् भनेका हौं तर उहाँहरु ११ सिट दिने कुरा गरिरहनुभएको छ,’ यही भएर हामीले एमाले र लोसपासँग पनि तालमेलको ढोका खुल्ला गरेका हौं।’