FLASH NEWS
  • Loading...

भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली किनारका बस्तीलाई खतरा

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८८ पटक पढिएको
भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली किनारका बस्तीलाई खतरा

काठमाडौं । भारतले जलविद्युत परियोजना बाँधको ढोका खोल्दा दार्चुलामा महाकाली नदी किनारका बस्ती बगाउने र डुबानमा पर्ने खतरा भएको छ । भारतले नेपालतर्फका बासिन्दाको जोखिम बेवास्ता गर्दै धारचुलाको धौलीगंगा जलविद्युत परियोजना बाँधको ढोका खोलेको हो ।

नदीमा बाढी आइरहेकै बेला भारतले झन् खतरा पार्दै बाँधको ढोका खोलेपछि दार्चुला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले बिहान बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । पत्रमा लेखिएअनुसार विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र त्यसका लागि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिंदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भने पनि त्यसपछि पनि महाकालीमा जलसतह बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जारी गरेको सूचनामा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि महाकाली जलाधारका केही स्थानमा भारी वर्षा भई नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित