- Loading...
अमेरिकी सेनाका वरिष्ठ जर्नेल आज नेपाल आउँदै
- गोल्डेन खबर
- २ साल अघि
- १५२ पटक पढिएको
काठमाडौं । अमेरिकी सेनाका वरिष्ठ जर्नेल आज नेपाल आउदै छन् । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लिन ४ दिने भ्रमणको लागि नेपाल आउन लागेका हुन्। अमेरिकी सेनाको बिशेष विमानबाट नेपाल आउन लागेका वरिष्ठ जर्नेल फ्लिन अपरान्ह काठमाडौं ओर्लिने छन् ।
बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बस्ने छन्। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन्।
शुक्रबार बिहानको खानापछि नेपाली सेनाको मुख्यालय जाने तय भएको छ। सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय जानेछन्। त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगतै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ। शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजमा सहभागी भएसँगै फ्लिनका त्यो दिनका कार्यक्रम सम्पन्न हुनेछन्।
२८ गते शनिबार बिहान यी अमेरिकी पाहुना हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन्। माउन्टेन फ्लाइटपछि एभरेष्ट भ्यु होटलमा ब्रेकफास्टको कार्यक्रम तय भएको छ। त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।
जेठ २९ गते आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। बिहानको खाना पनि त्यहीँ हुनेछ। बिहानको खानापछि सिधै उनलाई शिवपुरी लगिने प्रवक्ता शिलवालले जानकारी दिए। नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्ने छन्।