- Loading...
२/४ दिनभित्रै देशको पूर्वी भेगबाट मनसुन आरम्भ हुने
- गोल्डेन खबर
- २ साल अघि
- १३२ पटक पढिएको
काठमाडौं- अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन प्रारम्भ हुनेछ ।
नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ ।
‘अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिसन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिने छ, उहाँका अनुसार प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आइतबार र सोमबार वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताउनु भयो ।
नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ ।
देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूणर् बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा
मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहने छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज काठमाडौंको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।