FLASH NEWS
  • Loading...

प्रशासनको आदेश लत्याउँदै विद्यालय खोल्ने निर्णय

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले स्थानीय प्रशासनले गरेको निषेधलाई बेवास्ता गर्दै विद्यालय खुलाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै माघ मसान्तसम्म भौतिक रुपमा विद्यालय सञ्चालनमा रोक लगाएको भए पनि गोकर्णेश्वरले आगामी आइतवारबाट विद्यालय खोल्ने निर्णय गरेको हो । प्रशासनको आदेशको पालना गर्दै उपत्यकाका तीन जिल्लाका सबै स्थानीय तहले भौतिक कक्षा संचालनमा रोक लगाइरहेका बेला गोकर्णेश्वर नगरपालिकाले भने आफैं निर्णय गरेर भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न छुट दिएको हो । गत मंगलबार बसेको शिक्षा समितिको बैठकले माघ २३ गते आइतबारदेखि विद्यार्थीहरूको भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए । आवश्यक भौतिक दूरी र सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्ने भनिए पनि यसअघि समेत त्यस्तो ब्यवस्था विद्यालयहरुले गरेका थिएनन् । शिक्षा शाखाले अभिभावकसहितको बैठकबाट यस्तो निर्णय गरेको दावी गरेपनि अभिभावकहरुले भने साना कक्षाका विद्यार्थीहरुलाई कोरोनाको खोप उपलब्ध नभएकै अवस्थामा विद्यालय खोल्नु गलत भएको बताएका छन् । अधिकांश राजनीतिक दलका नेताहरुको लगानी रहेकाले विद्यालय संचालकको दवाबमा नगरपालिकाले यस्तो निर्णय गरेको भन्दै अभिभावकले असन्तुष्टि जनाएका छन् ।

सरकारले १२ वर्षमाथिका वालवालिकालाई मात्र कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाएको छ । गोकर्णेश्वर नगरपालिकामा संचालित सामुदायिक र निजि विद्यालयहरुमा अध्यययनरतमध्ये आधारभूत तहका अधिकांश विद्यार्थीले खोप लगाउन बाँकी नै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित