- Loading...
नेकपामा अध्यक्षद्वयको कार्यविभाजन : ओलीले सरकार, दाहालले पार्टी चलाउने
- गोल्डेन खबर
- ४ साल अघि
- ८९ पटक पढिएको
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्षद्वयको कार्यविभाजनलाई थप प्रष्टाएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने स्थायी कमिटी बैठकले निर्णय गरेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्षद्वयको कार्यविभाजनको हकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र प्रभावकारी ढंगले सरकारलाई सफल पार्ने निर्णय भएको छ।
अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने पनि निर्णय भएको उनले बताए।
‘अध्यक्षको कार्यविभाजनको हकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली सरकार केन्द्रित भएर अगाडि बढ्ने र प्रभावकारी ढंगले सफल काम गर्ने निर्णय भएको छ। अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काम गर्ने निर्णय भएको हो,’ उनले भने।
असार १० देखि जारी स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ।
बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि १३ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए। उक्त धारणामाथि अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए।
बैठकले पार्टी एकता रक्षा गर्ने, सुदृढ गर्दै अगाडि बढाउने पनि निर्णय गरेको श्रेष्ठले बताए।
पार्टीलाई विधिसम्मत् ढंगले अगाडि बढाउने र कमीकमजोरी देखिए सच्याउने र एकतावद्ध रूपमा अघि बढ्ने निर्णय भएको उनले जानकारी दिए।
सरकार पार्टीको मार्गनिर्देशनमा चल्ने उनले बताए।
‘दैनिक काममा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई सरकारले ध्यान दिएर निर्णय गर्नुपर्नेछ,’ उनले भने।