- Loading...
पहिरोले गोरखाको नौलीखोला थुनियो
- गोल्डेन खबर
- ४ साल अघि
- ८२ पटक पढिएको
गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको नौलीखोला थुनिएको छ । पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ ।
नौलीखोला गए राती आएको पहिरोका कारण थुनिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बुढीगण्डकी नदीको सहायक नदीको रुपमा रहेको नौलीखोला पहिरोले थुनिएको गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।
‘पहिरोले नौ घण्टादेखि नौनीखोला नदी पुरै ठप्प हुने गरी थुनिएको छ,’ एसपी गुरुङले भने, ‘धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो ।’
नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जोखिम बढेको छ । जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १५ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको एसपी गुरुङले बताए ।
माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ । ‘थुनिएको पानी एकैसाथ खोलिए जोखिम हुनसक्छ,’ एसपी गुरुङले भने, ‘बाढीको सहत बढ्नसक्ने भएकाले सर्तक रहन सबैलाई आग्रह गरेको छौं ।’
अनुमानित ५० मिटर लम्बाई र २४ मिटर चौडाईको ताल बनेको एसपी गुरुङको भनाइ छ ।