- Loading...
इरफान खानको निधनपछि श्रीमती सुतापाको भावुक पत्र
- गोल्डेन खबर
- ४ साल अघि
- १०२ पटक पढिएको
बलिउड अभिनेता इरफान खानको असामयिक निधनपछि विश्वभर रहेका उनका करोडौँ फ्यानहरुले दु:ख व्यक्त गरिरहेका छन्।
२५ वर्ष लामो वैवाहिक जीवनपछि श्रीमान गुमाएकी इरफानकी श्रीमती सुतापा सिक्दरले भावुक पत्र लेखेकी छिन् जुन इरफानको ट्वीटर अकाउन्टमा राखिएको छ। ५३ वर्षीय इरफानको बुधबार निधन भएको थियो। यस्तो छ पत्रको भावानुवाद :
परिवारको वक्तव्यका रुपमा म कसरी लेख्न सक्छु जबकी विश्वले व्यक्तिगत नोक्सानका रुपमा लिएको छैन। यो क्षणमा १० औँ लाख मानिसले हामीसँगै शोक मनाइरहेका बेला म कसरी एक्लो महसुस गर्न सक्छु ? सबैलाई एउटा कुरा भन्न चाहन्छु, यो नोक्सान होइन, प्राप्ति हो। हामीलाई उनले सिकाएका चिजहरुको प्राप्ती हो। अब हामी यो प्राप्तीलाई सही तरिकाले कार्यान्वयन गर्न सुरु गर्ने छौँ। अब म मानिसहरुलाई थाहा नभएका केही कुराहरु लेख्दै छु।
हाम्रा लागि यो अविश्वसनीय हो तर इरफानकै शब्द ‘म्याजिकल’ तरिकामा अभिव्यक्त गर्ने छु चाहे उनी हुन् या नरहुन्। वास्तवमा यो उनलाई पनि मन पर्थ्यो। उनी एक आयामको मात्र वास्तविकतालाई मन पराउँदैन थिए। उनीप्रति मेरो एकमात्र गुनासो भनेको उनले मलाई जीवनभर बिगारेका छन्। पूर्णताका लागि उनले गर्ने प्रयासले हरेक कुरामा सामान्य तरिकामा चित्त बुझाउन मलाई दिने छैन। उनले देख्ने हरेक कुरा चाहे त्यो कर्कस र भद्रगोलको परिस्थिति नै किन नहोस्, ‘लय’ हुन्थ्यो। मैले त्यस प्रकारको लयको संगीतमा नाच्न र गाउन सिकेको छु।
रमाइलो के छ भने हाम्रो परिवार अभिनयमा ‘मास्टरक्लास’ थियो, त्यसैले हाम्रो परिवारमा जब नाटकीय रुपमा ‘अनवान्टेड गेस्ट (सायद इरफानलाई लागेको रोगलाई संकेत)’को प्रवेश भयो, त्यतिबेलै मैले सिकेकी थिएँ : कर्कस परिस्थितिमा पनि सहिष्णुता हुन्छ।
चिकित्सकको रिपोर्टहरु पाण्डुलिपीजस्ता थिए जुन म पूर्णता दिन चाहन्थेँ। त्यसैले इरफानले आफ्नो ‘पर्फमेन्स’का लागि खोजी गरेका हरेक विवरणहरु कहिल्यै पनि भुल्ने छैन। हामीले यो यात्रामा केही ‘अमेजिङ’ मानिसहरुलाई भेट्यौँ र त्यसलाई सूचीबद्ध गर्न सजिलो छैन। तर तीमध्ये पनि केही छन् जसको नाम मैले यहाँ उल्लेख गर्नै पर्छ : क्यान्सर रोग विषेशज्ञ डा. नितेश रोहतोगी जसले सुरुमा हाम्रो हात समाएका थिए, बेलायतका चिकित्सकहरु डा.डान क्रेल र सिद्रभी, मेरो मुटुका ढुकढुकी र मेरो अँध्यारोमा लालटिनजस्तै भएका डा. सिमान्ती लिमाये। यो यात्रा कति रमाइलो, सुन्दर र पिडादायी थियो भनेर शब्दमा लेख्न सजिलो छैन।
पछिल्लो अढाई वर्षको अन्तराल पाएजस्तो भएको छ जसको आफ्नै सुरुवात, मध्य र उत्कृर्ष थियो जसमा इरफान अर्केस्ट्राका निर्देशकजस्ता थिए। यो हाम्रो ३५ वर्ष लामो सहयात्राभन्दा अलग थियो। हामी विवाहभन्दा फरक थियौँ, एक भएजस्तो थियो। म मेरो सानो परिवारलाई दुई छोराहरु बाबिल र आयानले डुंगामा राखेर अगाडि बढाइरहेको देख्दै छु जहाँ इरफानले निर्देशन दिदैँछन् : त्यहाँ होइन, यहाँबाट मोड। जीवन सिनेमा होइन र ‘रिटेक’हरु लिन सकिँदैन भन्ने बुझेपछि म छोराहरुलाई विनम्र आग्रह गर्न चाहन्छु : दिमागमा बुबाको मार्गनिर्देशनलाई राखेर सुरक्षित तरिकाले डुंगा चलाउ।
म मेरा दुई छोराहरुलाई बुबाले सिकाएका पाठहरु जुन निकै महत्वपुर्ण छन्, यसरी बुझ्न आग्रह गर्छु।
बाबिल- अनिश्चितताको नित्यमा आफूलाई आत्मसमर्पण गर्न सिक र यो ब्रम्हाण्डमा आफ्नो आस्थामा विश्वास गर।
आयान- दिमागलाई नियन्त्रण गर्न सिक। दिमागले तिमीलाई नियन्त्रण नगरोस्।
आँसुहरु बगिरहँदा, इरफानलाई मनपर्ने फुल ‘रात की रानी’ उनको विजय यात्रापछि विश्राम दिन राखेको स्थान (समाधीस्थल)मा रोप्ने छौँ। यसले समय लेला तर यो फुल्ने छ र सुवासहरु फैलने छन्। वर्षौँसम्म त्यसले मानिसका मनहरुलाई छुने छ जसलाई म फ्यान (इरफानका) भन्दिन बरु परिवार हुन्।