- Loading...
घर हिँडेका मजदुरहरुलाई नगरपालिकाद्वारा खानेबस्ने व्यवस्था
- गोल्डेन खबर
- ४ साल अघि
- ९० पटक पढिएको
लकडाउन लम्बिएपछि घर हिँडेका मजदुरहरुलाई मध्यनेपाल नगरपालिकाले खाना, खाजा र बासको व्यवस्थापन गरेको छ ।
लमजुङकव् विभिन्न स्थानमा दैनिक ज्यालादारीमा काम गर्दै आएका बाहिरी जिल्लाका मजदुरहरु पैदल हिँडेरै घर फर्कने क्रममा मध्यनेपाल पुगेका हुन्। रुकुमसम्म जाने भन्दै निस्किएका २६ जनालाई खाना, खाजा र बासको व्यवस्था गरेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए।
शुक्रबार मध्यनेपाल–१० नेटा पुगेका मजदुरहरुलाई सम्बन्धित वडा कार्यालयले खाजा र खानाको व्यवस्थापन गरेको नगरप्रमुख पाण्डेले बताए। वडा नम्बर १० का अध्यक्ष रामचन्द्र भण्डारीका अनुसार उनीहरुलाई स्थानिय आमा समूहको भवनमा बास बस्ने व्यवस्था मिलाइएको हो।
नगरपालिकाका अनुसार मस्र्याङदी गाउँपालिकाका विभिन्न भागमा काम गर्दै आएका मजदुरहरु समेत हिँडेर मध्यनेपाल पुगेका हुन्। यसअघि स्थानीय तहबाट दिइएको राहात सकिएको र थप आफुसँग भएको रकम सकिएपछि हिँड्नुको विकल्प नभएको उनीहरुले बताए।
कतिपय मजदुरहरु हिँडेर लमजुङ छाडिसकेका छन् भने कतिपय हिँड्ने तयारीमा छन्। तर, पछिल्लो समय स्थानीय प्रशासनले लकडाउनलाई कडाई गर्दै जिल्ला नाकाहरुमा पैदल आवागमन समेत रोक लगाएको छ। आवश्यकताअनुसारको राहत नपाउँदा मजदुरहरुको दैनिक छाकटार्न समेत मुस्किल भएपछि लत्ताकपडा बोकेर घर फर्कने क्रम बढेको छ।