FLASH NEWS
  • Loading...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ४६ पटक पढिएको
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। बुधबार साँझ बसेको सचिवालय बैठकले यही वैशाख ४ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समिति बैठकले चितवनबाट सुरू भएको जनयात्राबारे ठोस निर्णय लिनेछ।

रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरू गरेको थियो। तर अघिल्लो दिन नै सभापति रवि लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै उच्च अदालत तुलशीपुरले उनलाई थुनामा पठाउने आदेश दिएको थियो।
कारागार चलान गर्ने ध्येयले सभापति लामिछाने त्यही दिन पक्राउ परेका थिए। सभापति हात्तीगौंडास्थित निवासबाटै पक्राउ परे पनि रास्वपाले जनयात्रा सुरूआत गर्ने कार्यक्रम रोकेन।

निरन्तरता भने दिएको छैन। यसबारे आगामी कार्ययोजना केन्द्रीय समितिले नै बनाउने छ।

रास्वपा पहिलो महाधिवेशनको तयारीमा पनि छ। गत असोजमा भएको राष्ट्रिय परिषद्को प्रथम भेलाले पहिलो महाधिवेशन वैशाख २५, २६, २७ गते गर्न सुझाव दिएको थियो। तदनुसार केन्द्रीय समितिले त्यही मितिमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो। कार्यतालिका पनि बनाएको थियो।

कार्यतालिका अनुसार अहिलेसम्म ६८ जिल्ला भेला र ५ वटा पालिका समितिको अधिवेशन भएकाे छ।

जसले महाधिवेशन निर्धारित मितिमै गर्न सकस भइरहेका बेला सभापति कारागार चलान भएका छन्।

रास्वपाले महाधिवेशन स्थगन गर्ने तयारी गरेको छ। यद्यपि उक्त निर्णय केन्द्रीय समितिले नै गर्नेछ।

‘बदलिँदो परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक आयोजना गर्ने भएकोले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको छ,’ झाले बताए।

साथै पार्टी सचिवालयको बैठकका बाँकी एजेण्डाहरूमा छलफल गर्न र केन्द्रीय समितिको बैठकको तयारीका पुनः सचिवालय बस्ने झाले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित