FLASH NEWS
  • Loading...

नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन सहमति

  • गोल्डेन खबर
  • २ दिन अघि
  • ८ पटक पढिएको
नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन सहमति

परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबिच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सहमति भएको छ । नयाँ दिल्लीमा भएको द्विपक्षीय भेटवार्तामा दुई छिमेकी मुलुकको घनिष्टतायुक्त लामो यात्रालाई नयाँ आयाम दिएर अगाडि बढाउनुपर्नेमा दुई विदेशमन्त्रीले भेटवार्तामा सहमति जनाउनुभएको थियो ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलगको साइडलाइन बैठकका क्रममा उहाँहरूबिच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबिचका साझा चासोहरू र आपसी हितका साथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री डा. राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महìव दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको प्रस्ट्याउनुभयो । विदेशमन्त्री जयशङ्करले भारत सरकार नेपालको निकट छिमेकीका रूपमा सदैव साथ रहने प्रतिबद्धता जनाउनुभएको थियो । साथै भेटमा नेपाल र भारतबिच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बिचको ब्यापार, पारवहन तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए. मनालोसँग बुधबार नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरूबिच सो भेटवार्ता भएको हो । ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस भेटका अवसरमा मन्त्री डा. राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सदस्यलगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि आग्रह गर्नुभयो ।

साथै मन्त्री राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटनलगायतका क्षेत्रमा नेपाल र जर्जियाबिच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गर्नुभएको थियो । साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको मन्त्री डा. राणाले बताउनुभएको थियो । त्यसै गरी मन्त्री राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए. मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताउनुभएको थियो । फिलिपिन्स र नेपालका बिचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित