मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि

  • गोल्डेन खबर
  • १५ घण्टा अघि
  • ४ पटक पढिएको
मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि

दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि जितेको छ ।

मुम्बईको ब्राबोर्न स्टेडियममा शनिवार भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । दिल्ली लगातार तेस्रो संस्करणमा उपविजेता बनेको हो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन मात्र बनायो । दिल्लीका लागि मरिजाने कप्पाले २६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४० रन जोडिन् ।

जेमिमा रोट्रिगेजले २१ बलमा ४ चौकाको सहयोगमा ३० रन बनाइन् । निकी प्रसाद २३ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रनमा नट आउट रहिन् ।

कप्तान मेग ल्यानिङ र जेस ज्यानसन समान १३ रनमा आउट भए । मुम्बईका लागि नेट सेभरले ३ तथा अमेलिया केरले २ विकेट लिईन् ।

त्यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल तयार गरेको थियो ।

मुम्बईका लागि कप्तान हरमनप्रित कौरले ४४ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन जोडिन् । नेट सेभर ब्रान्टले २८ बलमा ४ चौकाको सहयोगमा ३० रन बनाइन् ।

अमनजोत कौर १४ रनमा नट आउट रहँदा जी कमालिनी १० रनमा आउट भइन् । दिल्लीका लागि श्री छरानी, मरिजाने कप्पा र जेस ज्यानसनले समान २ विकेट लिइन् ।

भारतीय क्रिकेट बोर्डको आयोजना भएको डब्लुपिएलमा मुम्बईले सन् २०२३ को पहिलो र यो सिजन गरि दुई पटकउपाधि जितेको छ ।

२०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो । दिल्लीले लगातार फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन ।

डब्लुपिएलमा मुम्बई र दिल्लीसहित गुजरात जायन्ट्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी ५ टोलीको सहभागिता थियो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित