- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
ओडिसा घटनाको पाठ : नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता
- गोल्डेन खबर
- ३ हप्ता अघि
- ३२ पटक पढिएको

ठमाडौँ, फागुन ८ गते । भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युसँगै वैदेशिक अध्ययनमा गएका अन्य विद्यार्थीको सुरक्षाको विषयमा पनि चिन्ता र चासो बढेको छ ।
कलिला उमेरका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न पठाउँदा आर्थिक र शैक्षिक विषयसँगै व्यावहारिक पक्षमा पनि उचित परामर्श दिनुपर्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ । पछिल्लो समय वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा क्याम्पसको वस्तुस्थिति र त्यहाँ तिर्नुपर्ने शुल्कका विषयमा मात्रै परामर्श दिने गरिएको छ । व्यावहारिक जीवनका अन्य पाटाका विषयमा पनि समयमै प्रशस्तै परामर्श नपुग्दा भारतमा मात्रै होइन, अन्य मुलुकमा अध्ययन गर्न गएका नेपाली विद्यार्थी विविध दुर्घटनामा पर्ने गरेका छन् । पछिल्लो समय बुटवलकी लम्सालको निधनबाट पनि नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता बढेको हो ।
लम्सालको शव गत आइतबार साँझ छात्रावासमा झुन्डिएको अवस्थामा फेलापरेको थियो । लम्सालले आत्महत्या गरेको भनिएको छ । साथै भारतकै एक युवाले पटक पटक धम्कीपूर्ण व्यवहार गरेका कारण लम्सालले आत्महत्याको बाटो रोजेको पनि सोही विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीले बताएका छन् ।
लम्सालको निधनको घटनाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई पढाइका साथै व्यावहारिक जीवनका विभिन्न पाटाको विषयमा पनि परामर्श आवश्यक रहेको इन्डो वल्र्ड एजुकेसनल कन्सलटेन्सीका कार्यकारी अध्यक्ष शिवप्रसाद अर्यालले बताउनुभयो । “यहाँबाट विदेश जाने विद्यार्थीलाई हामीले विश्वविद्यालयको वस्तुस्थिति, त्यहाँको पढाइ तथा शुल्क संरचनाको विषयमा मात्रै परामर्श दिने हो,” अर्यालले भन्नुभयो, “अब भने विद्यार्थी जुन विश्वविद्यालयमा जान्छन्, त्यहाँको व्यवस्थापनसँग पनि छुट्टै परामर्श गर्नुपर्ने आवश्यकता देखियो ।”
पछिल्लो समय भारतमा करिब १५ हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको अनौपचारिक तथ्याङ्क छ । तर भारतमा पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमतिपत्र अनिवार्य आवश्यकता नपर्ने भएका कारण कुन शैक्षिक संस्थामा कति विद्यार्थी अध्ययन गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क आउन सकेको छैन ।
“परामर्श व्यवसायीका अनुसार भारतमा उच्च शिक्षा अध्ययनका लागि प्रतिवर्ष ५० हजारको हाराहारीमा विदेशी विद्यार्थी पढ्न आउने गरेका छन्, जसमा नेपाली विद्यार्थीको हिस्सा २५ प्रतिशतको हाराहारीमा छ,” इन्डो वल्र्डका अध्यक्ष अर्यालले भन्नुभयो, “तर यो पनि हाम्रो प्रणालीबाट आएको आधिकारिक तथ्याङ्क होइन । सरकार आफैँ नलागेसम्म यसको वास्तविक तथ्याङ्क आउँदैन ।”
भारत जाने विद्यार्थीको सङ्ख्या बढेसँगै उनीहरूलाई पनि एनओसी अनिवार्य गर्नुपर्ने माग शैक्षिक परामर्श व्यवसायीले गर्दै आएको पनि अर्यालले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले पनि बिदेसिएका नेपाली विद्यार्थीको सुरक्षा र व्यवस्थापन विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लम्सालको निधनले हामीलाई धेरै पाठ सिकाएको छ । यस्ता समस्या भविष्यमा आउन नदिन सरोकारवाला सबै निकायबाट पहल हुनु आवश्यक छ । शिक्षा मन्त्रालयले आफ्नो जिम्मेवारी अनुसार सबै प्रकारको पहल गर्ने छ ।”
एक सय सैँतिस जना विद्यार्थी फर्के घर
भैरहवा समाचारदाताका अनुसार भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत ११ जना विद्यार्थी बेलहिया नाका हुँदै नेपाल फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले रुपन्देही घर भएका विद्यार्थी घर फिर्ता भएको बताउनुभयो । भारतबाट आफ्नै तरिकाले आएका विद्यार्थीलाई प्रहरीले आवश्यक विवरण लिई घरतर्फ पठाएको कार्कीले जानकारी दिनुभयो ।
यसैबिच राष्ट्रिय समाचार समितिका अनुसार केआइआइटीमा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।
प्रकृति लम्सालको शव ल्याइँदै
भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिनुभएकी भैरहवाकी प्रकृति लम्सालको शव बुधबार साँझ गोरखपुर ल्याइएको छ । लम्सालका बुवा सुनील लम्साललगायतले प्रकृतिको शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिँड्नुभएको र साँझ गोरखपुर आएको जानकारी पाएको प्रकृतिका मामा शिव शर्माले जानकारी दिनुभयो । केआइआइटी स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृतिको शव छात्रावासमा भेटिएको थियो । घटनाको जानकारी पाएपछि प्रकृतिका बुवा भारतको ओडिसा पुग्नुभएको थियो । प्रकृतिका बुवाआमा र भाइ काठमाडौँमा बसेर उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । हजुरबुवा र हजुरआमा भैरहवा बस्दै आउनुभएको थियो ।