महावीर पुनलाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान

  • गोल्डेन खबर
  • ३ हप्ता अघि
  • ३५ पटक पढिएको
महावीर पुनलाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान

बागलुङ, फागुन ८ गते । साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ रोमन म्यागसेसे पुरस्कार विजेता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सिर्जनशील व्यक्तित्व महाविर पुनलाई प्रदान गरिएको छ ।

दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोग गरेर गाउँलाई विश्वसँग जोड्ने काममा पुन प्रसिद्ध हुनुहुन्छ । रत्न श्रेष्ठ पुरस्कार गुठीले ४८ औं स्मृति दिवशको अबसरमा बुधबार आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको हो ।

पुस्तक बिक्री अभियानमा इटहरीमा रहनुभएका पुन पुरस्कार लिन आउन नसकेपछि राष्ट्रिय आविष्कार केन्द्रको पोखरा इन्चार्ज तथा इन्जिनियर ईन्द्र ओलीले पुरस्कार ग्रहण गर्नुभयो । गुठीले ५० हजार रुपियाँको पुरस्कार पुनलाई प्रदान गरेको हो ।

पुरस्कार लिन आउन नपाए पनि इटहरीबाट लिखित पत्र पठाउनुभएका पुनले पुरस्कार दिएकोमा गुठीलाई धन्यवाद ज्ञापन गर्नुभयो । २०३३ सालमा छोटाले आफ्नी आमा रत्नको नाउँमा स्थापना गर्नुभएको हो । गुठीले वर्षेनी झण्डै एक लाख रुपियाँ बराबरको रकम पुरस्कार स्वरुप बितरण गर्दैआएको छ ।

गुठीले दिँदैआएको ‘रत्न श्रेष्ठ धवलागिरि प्रतिभा पुरस्कार’ सह–प्राध्यापक जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी २५ हजार रुपियाँ छ । सोही अवसरमा ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ ‘सगरमाथा एक पहाडको नाम होइन’ नामक निबन्ध संग्रहलाई प्रदान गरिएको छ । पाल्पाका सह–प्राध्यापक चोलेन्द्र शर्माद्वारा लिखित कृतिलाई कोषले २५ हजार रुपियाँ लेखनवृत्ति पुरस्कार दिएको हो ।

यसैगरी, गुठीमै स्थापित ‘गुरु गणेश, बिष्णु स्मृति पुरस्कार’ बाट मुक्तिनाथ बेदविद्याश्रमका बटुक रामकृष्ण सुवेदीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार भने १० हजार रुपियाँ राशीको छ । सोही समयमा जगतचन्द्र सम्मानबाट पाल्पाकै साहित्यकार विजयसागर श्रेष्ठलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा सामाजिक व्यक्तित्व भरतकुमार श्रेष्ठ र चन्द्रकुमारी श्रेष्ठले मानव सेवा आश्रमलाई ५० हजार रुपियाँ सहयोग गर्नुभएको छ । उक्त रकम अक्षयकोषमा राखेर आश्रममा आश्रितको उपचार र खानामा खर्चने योजना बनाएको आश्रमका सञ्चालक निर्मलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित