- Loading...
जलेर महिलाको मृत्यु
- गोल्डेन खबर
- १ महिना अघि
- ३९ पटक पढिएको

तुलसीपुर, माघ २९ गते । खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर एक जनाको मृत्यु भएको छ । आगलागीबाट तुलसीपुर उपमहानगरपालिका १० सक्राम निवासी ६४ वर्षीया इश्वरी वलीको जलेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाका अनुसार गत माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलीले लगाएको कपडामा आगो सल्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । आगलागी हुँदा वलीको पेटदेखि घुँडासम्मको भाग जलेको थियो ।
घटना लगत्तै तुलसीपुरस्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा त्यहाँपनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो । तर काठमाडौं पनि उपचार सम्भव नभएपछि काठमाडौंबाट सोमबार(माघ २८) दाङ फर्काइएको थियो ।
दाङ ल्याएपछि वलीलाई फेरि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । वलीको आज बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।