FLASH NEWS
  • Loading...

हत्या आरोपमा पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • १२९ पटक पढिएको
हत्या आरोपमा पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

मधेश आन्दोलनका क्रममा विसं २०७२ भदौ २५ गते विकको हत्या भएको थियो । उक्त प्रकरणमा संलग्न भएको आरोपमा गत शनिवार पक्राउ परेका पूर्वसंविधानसभा सदस्य यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले आज कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो ।

यादवलाई आगजनी मुद्दामा ५ हजार रुपैयाँ जरिमानासमेत गरिएको स्रेस्तेदार नुतन झाले जानकारी दिइन् । यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ र २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

महोत्तरी जिल्ला अदालतले विसं २०८० मंसिर २८ गते सशस्त्र प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । सोही मुद्दामा महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई भने सफाइ पाइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित