FLASH NEWS
  • Loading...

पार्टी गठनको २३ महिनापछि पार्टीको राजनीतिक कार्यदिशाबारे छलफल सुरू

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५६ पटक पढिएको
पार्टी गठनको २३ महिनापछि पार्टीको राजनीतिक कार्यदिशाबारे छलफल सुरू

काठमाडौं – पार्टी गठनको २३ महिनापछि पार्टीको राजनीतिक कार्यदिशाबारे छलफल सुरू गरेको एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता अहिले पनि रहेको बताएको छ।

 

असार २९ देखि साउन ५ गतेसम्म चलेको पार्टी सचिवालयको बैठकको निष्कर्ष सुनाउँदै एकीकृत समाजवादीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४९ सालमा अघि सारेको जबजलाई समाजवादी क्रान्तिको कार्यदिशाका रूपमा विकास गर्ने बताएको हो।

नेकपा ९एमाले०ले पनि यही मान्यता बोक्दै आएको छ। एमालेको नवौं र दसौं महाधिवेशनमा घनश्याम भुसालले अघि सारेको दृष्टिकोण नै पारित हुँदै आएको थियो। जबज पुँजीवादी क्रान्तिको कार्यदिशा भएकाले यसलाई समाजवादको लक्ष्यसम्म पुग्ने गरी समृद्ध बनाउनुपर्ने त्यतिबेलाको मान्यता थियो।

अहिले पनि यसलाई समाजवादी क्रान्तिको कार्यदिशा बनाउने गरी समृद्ध तुल्याउनु पर्ने एकीकृत समाजवादीको धारणा आएको हो। नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा भावी नेपाली क्रान्तिको कार्यदिशा समाजवादी हो भन्ने कुरामा पार्टी स्पष्ट छ। लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सामन्तवादविरूद्ध जनताको बहुदलीय जनवादका विशेषताका रूपमा अगाडि सारिएका माग, नारा र मान्यताहरू संविधानमा संस्थागत भैसकेका छन्।

आज पनि कम्युनिष्ट पार्टी लोकतान्त्रिक प्रतिस्पर्धाबाट समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न चाहन्छ भन्ने मान्यताका रूपमा जनताको बहुदलीय जनवाद सान्दर्भिक छ भन्ने कुरामा पार्टी स्पष्ट छ,’ एकीकृत समाजवादीले निचोड सुनाउँदै भनेको छ।

संविधानको रक्षा र विकास गर्दै समाजवादी रूपान्तरणको आधार तयार गर्नु आजको मुख्य कार्यभार भएको बताउँदै यस अवधिभरि दलाल पुँजीवादसँग नेपाली जनताको अन्तरविरोध प्रधान रहने उसले बताएको छ।

राजनीतिक रूपमा दलाल पुँजीवाद विभिन्न राजनीतिक पार्टी, समूह वा प्रवृतिका पुनरूत्थानवादी, दक्षिणपन्थी, अवसरवादी नीति र प्रवृत्तिहरूमा प्रकट हुन्छ। मुलुकका नयाँ वा पुराना सबै पार्टीहरूसँग हाम्रो सम्बन्ध दलाल पुँजीवादबारे उनीहरूको दृष्टिकोणमा भर पर्छ,’ एकीकृत समाजवादीले भनेको छ।

कतिपय दलले मुलुकको समाजवादी रूपान्तरणको कुरा गर्छन् तर जनक्रान्तिको उपलब्धी, वर्तमान संविधानको रक्षा र विकासप्रति उनीहरूको दृष्टिकोण गलत रहेको उसको ठम्याइ छ।कतिपयले संविधानको रक्षा र विकासको पक्षमा आफूलाई उभ्याए पनि मुलुकको समाजवादी रूपान्तरणप्रति नकारात्मक दृष्टिकोण राख्ने उनीहरूको ठहर। त्यस्तै कतिपय ती दुबै विषयमा नकारात्मक वा अस्पष्ट रहेको पनि उसको बुझाइ देखिन्छ।

‘नेकपा एकीकृत समाजवादी संविधानको रक्षा, विकास र समाजवादी रूपान्तरणका मुद्दाहरूमा ती राजनीतिक दलहरूका दृष्टिकोणअनुसार एकता र सङ्घर्षको सम्बन्ध राख्छ,’ एकीकृत समाजवादीले भनेको छ।

समाजवादी कार्यदिशा भएका राजनीतिक दलहरूका बीच कैयन् सैद्धान्तिक तथा राजनीतिक मतभिन्नता भए पनि साझा मुद्दामा सहकार्य गर्न मोर्चा बनाइएको उसको स्पष्टोक्ति छ।

ती राजनीतिक दलहरूका बीचमा विभिन्न तहमा उत्पन्न हुन सक्ने विवाद वा अन्तरविरोधलाई समाधान गर्न उक्त मोर्चा बनाइएको हो भन्ने कुरा पार्टी पङ्क्तिलाई स्पष्ट पार्ने,’ सचिवालयको निर्णयमा उल्लेख छ। वैचारिक कार्यदिशा र समाजवादी मोर्चाबारे पार्टीमा मतभिन्नता उत्पन्न भएपछि समाजवादीले बैठक बसेर प्रष्ट्याएको हो।

बैठकले एमसिसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने पनि निर्णय गरेको छ। त्यस सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणाअनुरूप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठन गर्न आवश्यक पहल गर्ने पनि उसले निर्णय गरेको छ। एमसिसीबारे निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने उसले निर्णय गरेको छ।

पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानबारे छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने एकीकृत समाजवादीले निर्णय गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित