FLASH NEWS
  • Loading...

अन्तराष्ट्रिय नेपाली वायुसेवा कम्पनीले अब जहाजभित्रै पसल राख्न पाउने

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८० पटक पढिएको
अन्तराष्ट्रिय नेपाली वायुसेवा कम्पनीले अब जहाजभित्रै पसल राख्न पाउने

काठमाडौं – नेपालका अन्तराष्ट्रिय वायुसेवा कम्पनीले उडानका दौरान अब ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले अनबोर्ड ड्युटी पेड सप सञ्चालन कार्यविधि जारी गरेको छ । यस कार्यविधि अनुसार वायुसेवा कम्पनीले अनुमति लिएर जहाज भित्रै पसल सञ्चालन गर्न ब्यबस्था हुन्छ ।

यसबाट वायुसेवाको अतिरिक्त आम्दानी बढ्ने, वायुसेवालाई थप सवल, सुदृढ र दीगो बनाउने तथा राजस्व संकलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने मन्त्रालयले विश्वास लिएको छ । मन्त्रालयका अनुसार यस कार्यविधिमा टेकेर वायुसेवा कम्पनीले उडानरत विमानमा करयुक्त सामग्री बिक्री गर्ने पसल राख्न सक्ने भएका छन् । नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

नेपाल एयरलाइन्सले दुई दशक अगाडिसम्म यस्तो पसल राख्दै आएको थियो । भन्सार ऐन आएपछि सो ऐनको प्रावधानमा टेकेर २०६० को दशकपछि यस्तो पसल राख्न बन्द गराइएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘निकै राम्रो आम्दानी यो पसलबाट हुन्थ्यो, बन्द भएपछि पुनः सुचारु गर्न निकै प्रयास गरेका थियौं, यो राम्रो पहल हो,’ उनले भने ।

वायुयान भित्र पसल राख्न चाहने वायुसेवा कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनु पर्ने भएको छ । जसका लागि मन्त्रालयका सेवा सञ्चालनको आर्थिक तथा प्राविधिक सम्भाव्यता सहितको निवेदन पेश गर्नुपर्ने भएको छ । जसमा तोकिएका शर्त पुरा गरी आन्तरिक सञ्चालन कार्यविधि बनाएर सो समेत मन्त्रालयलाई बुझाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।

आन्तरिक सञ्चालन कार्यविधिमा खरिद गरिने सामग्रीको बिक्रेता छनोट प्रक्रिया, विभिन्न प्रकृतिका सामग्रीको खरिद र गुणस्तर कायम गर्न अवलम्बन गर्ने प्रक्रिया, गोदाम व्यवस्थापन तथा वायुयानसम्म ओसार पसारको प्रक्रिया पेश गर्नुपर्ने भएको छ ।

यसै गरी खाद्यवस्तु समेत बिक्री गर्ने भए खाद्य सुरक्षाका लागि अवलम्बन गरिने उपाय, उपभोक्ता हकहितको सुनिश्चितता, सुरक्षाका उपाय, बिक्री पश्चात भुक्तानीका उपाय र सरोकारवालासँगको अन्तरसम्बन्ध सुदृढ गर्ने विषय समेत वायुसेवा कम्पनीले मन्त्रालयलाई बुझाउनु पर्ने भएको छ । यी कागजातको मूल्यांकनबाट उपयुक्त देखिएमा मन्त्रालयले निवेदक वायुसेवा संस्थालाई यस्तो पसल सञ्चालनको अनुमति दिने भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित