- Loading...
मिलेन गठबन्धन भागबण्डा, कार्यदलको बैठक आज पनि बस्दै
- गोल्डेन खबर
- २ साल अघि
- १०० पटक पढिएको
काठमाडौं । सत्तारुढ दलभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। बिहीबार बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको कार्यदलका सदस्य हिमलाल पुरीले नेपालखबरलाई जानकारी दिएका छन् ।
आगामी मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका दलहरुबीच तालमेल गरेर जाने निर्णय भएपनि सिट बाँडफाँट हुन सकेको छैन्। पटक पटक शीर्ष नेताहरुसहितको बैठक बस्दा पनि बाँडफाँटमा सहमति हुन नसक्दा विषय पेचिलो बन्दै गएको छ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ। अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । प्रदेश सभामा भने माओवादी केन्द्रले १ सय २० सिट दाबी गरेपनि अरु दलले सार्वजनिक गरेका छैनन्।
बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो। बैठकमा सहमति नजुटेपछि संचारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताएका थिए। उनले सकेसम्म बिहीबार नै टुंगोमा पुगेर सार्वजनिक गर्ने पनि बताएका थिए। कार्यदलको बैठकमा भने दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन नसकेको नेताहरूले बताइरहेका छन्।