FLASH NEWS
  • Loading...

काठमाडौंको फोहोर उठ्न अझै १० दिन लाग्ने

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९२ पटक पढिएको
काठमाडौंको फोहोर उठ्न अझै १० दिन लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न अझै १० दिन लाग्ने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहोर २ महिनादेखि व्यवस्थापन हुन सकेकेको छैन ।

शहरका चोक, गल्लीमा लामो समयदेखि फोहोर थुप्रिएको छ। साविकबमोजिम फोहोर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहोर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए।

उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिपर फोहोर व्यवस्थापन गर्नुपर्ने छ। बिनाअवरोध नियमित फोहोर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहोर व्यवस्थापनमा सो समय लाग्नेछ। फोहोर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारबाट साविकबमोजिम फोहोर व्यवस्थापन गर्न थालिएको हो।

पछिल्लो सम्झौताअनुसार फोहोरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन। तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन्। ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए।

सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर व्यवस्थापनको काम पनि सुरु भएको छ। उक्त स्थानमा पनि अझै पाँच सय टिपर फोहोर रहेको बताइएको छ। लामो समयदेखि उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि कामपाले टेकुमा थुपारी प्लािस्टकले छोपेर राखेको थियो।

हाल सञ्चालनमा रहेको फोहोर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक तीन सय गाडीले फोहोर विसर्जनको तयारी छ।
अहिले उपत्यकाका विभिन्न स्थानमा अस्तव्यस्त रूपमा रहेको फोहोरको विसर्जन हुनेबित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहोर पूर्ण रूपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ। घरबाट फोहोर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहोरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने कामपाले चेतावनी दिएको छ।

लामो समयसम्म रोकिएको फोहोर व्यवथापनको लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले काठमाडौँको फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लानका लागि निःशुल्क सेवा प्रदान गरेका छन्।

बिहीबार उक्त समितिले एक हजार आठ सय टिपर फोहोर बोकेर ल्याण्डफिल साइट पुगेका थिए। समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको समितिका सचिवालय सदस्य रत्नमणि पाठकले जानकारी दिए। फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै कामपाका प्रमुख साहले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताएका छन्।

उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीय बीच पटक पटक सहमति भए्का छन्। पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय समयमा अवरोध गर्दा काठमाडौँमा फोहोरको डङ्गुर थुप्रने गरेको छ। स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता दीर्घकालिन नभएको भन्दै कामपाले अन्य स्थानमा फोहोर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित