- Loading...
प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा जनैपूर्णिमा मेला लाग्ने
- गोल्डेन खबर
- २ साल अघि
- १६३ पटक पढिएको
काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनै पूर्णिमामा मेला लाग्ने भएको छ। पूर्णिमामा एक सम्मसम्म मेला लाग्ने आयोजकले जानकारी दिएका छन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन। यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए।
यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ। समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन्।
संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो। इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन्।
पाँचपोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ। मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमा पाँचपोखरीलाई पनि छनोट गरेको छ। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन्।
विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन्। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवादपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
अहिले पाँचपोखरीसम्म पुग्ने बाटो निर्माण, सूचनापाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङ्पाल गाँउपालिका–३ भोताङका अध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए। भोताङपछि विभिन्न स्थानमा होमस्टे रहेकाले खान, बस्न समस्या नहुने उनले बताए।