FLASH NEWS
  • Loading...

कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न सक्दैनौं : श्रेष्ठ

  • गोल्डेन खबर
  • २ साल अघि
  • १३९ पटक पढिएको
कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न सक्दैनौं : श्रेष्ठ

काठमाडौं । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न नसक्ने बताउनुभएको छ । माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नागरिकता विधेयक, एमसीसी र एसपीपीमा बलजफ्ती गरेको भन्दै अब स्वीकार्न नसक्ने बताउनुभएको हो ।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्’ उहाँले फेसबुकमा लेख्नुभएको छ ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’

नेता श्रेष्ठले प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकको प्रावधान, अमेरिकी सहयोग परियोजना (एमसीसी) र अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा असहमति जनाउनुभएको छ । नागरिकता विधेयकमा माओवादीको अडान नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्छ भन्ने रहेको भन्दै नेता श्रेष्ठले अहिले विधेयक पारितको प्रक्रिया गलत रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानसहित विधेयक बहुमतले पारित गरेको भन्दै उहाँले सरकारले उक्त विधेयक फिर्ता लिएर त्यतिबेला अल्पमतमा परेको विषय उठाएर पारित गर्नु गलत भएको बताउनुभयो ।

‘यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत छ’ उहाँले भन्नुभएको छ ‘सरकारले या त संसदभित्र सहमति कायम गरेर त्यसको आधारमा अघि बढाउनुपर्थ्यो या सम्बन्धित समितिले २ वर्ष लगाएर पठाएको प्रतिवेदन नै छलफल एवं निर्णय प्रक्रियामा लैजानु पर्दथ्यो । समितिले बहुमतले पारित गरेको विषय सरकारलाई मन परेन भन्दैमा फिर्ता लिएर अल्पमतमा रहेको आफ्नो विचार अनुसारको विधेयक अघि बढाउने प्रवृत्ति हावी भए लोकतन्त्र र संसदको विधि कसरी कार्यान्वयन होला ?’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित