- Loading...
नागरिकता विधेयक फिर्ता लिएकोमा एमालेको आपत्ति
- गोल्डेन खबर
- २ साल अघि
- ९२ पटक पढिएको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभामा रहेको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति जनाएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेका छन् ।
सो प्रस्तावको विरोध गर्दै एमालेका सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताए । उनले विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शुन्य अवस्थाबाट सुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको बताए । उनले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भिर नभएको बताए ।
त्यसैगरी एमालेका सांसद भीम रावलले वर्तमान सरकार काम चलाउ रहेको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव संवैधानिक, कानूनी, लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको प्रतिकुल रहेको बताए । उनले प्रस्ताव फिर्ता लिन गृहमन्त्री खाँणलाई आग्रह गरे । उनले नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाउन पनि आग्रह गरे ।
एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक संसदबाट फिर्ता लिने प्रस्ताव गर्नुले भ्रुण हत्या भएको टिप्पणी गरे । उनले विद्यमान विधेयकलाई नै पारित गर्नुपर्ने बताए । उनले नयाँ नागरिकता विधेयक ल्याउँदा विधेयकको सबै प्रक्रिया पूरा गरी पारित गर्ने समय नै यो संसदसँग नरहने बताए ।
उनले विधेयक फिर्ता नलिन सरकारलाई आग्रह गरे । विधेयक फिर्ता लिएर सरकारले संविधानको धारा १० को उल्लंघन गरेको उनको भनाई छ ।