- Loading...
अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको शर्त
- गोल्डेन खबर
- २ साल अघि
- ९४ पटक पढिएको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट कर दर हेरफेर प्रकरण छानविनको लागि संसदीय समिति बनाउनुअघि अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने शर्त राखेको छ ।
एमालेले बजेट बनाउने बेला अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै त्यसबारे संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग गर्दै आएको थियो । एमालेको त्यो माग शुरुमा सत्तारुढ दल मान्न तयार भएनन् । तर अहिले सत्तारुढ दल संसदीय छानविन समिति बनाउन तयार हुँदा एमालेले फेरि अर्थमन्त्रीको राजीनामा शर्त राखेको हो ।
अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बताएको थियो । त्यो प्रकरणपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको दबाव परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार सांझ यसबारे छलफल भएको थियो । स्रोतका अनुसार छलफलमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई राजीनमा गराउन दाहालसँग आग्रह गर्नुभएको थियो तर दाहाल त्यसबारे मौन रहेको थियो । एमालेले पहिल्यैदेखि उठाउँदै आएको संसदीय समिति गठनको माग प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले अहिले बल्ल स्वीकार गरेको छ । कांग्रेस संसदीय छानविन समिति बनाउन तयार भएपछि माओवादी केन्द्र समेत त्यसमा सहमत भएको छ ।
कांग्रेस र माओवादी केन्द्र संसदीय छानविन समिति बनाउन तयार भएपछि तर एमालेले छानविन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको हो । छलफलमा सहभागी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले त्यसको पुष्टि गर्नुभएको छ ।