- Loading...
अमेरिकी सेनाको वरिष्ठ जर्नेल काठमाडौंमा
- गोल्डेन खबर
- २ साल अघि
- ९६ पटक पढिएको
काठमाडौं । अमेरिकी सेनाको वरिष्ठ जर्नेल नेपाल आइपुगेका छन् । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरल फ्लिन नेपाल आइपुगेका हुन् । उनी इन्डिगो एयरलाइन्स नयाँदिल्लीबाट बिहीबार दिउँसो नेपाल आएका हुन् । सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्र प्रमुख रहेका उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका माइकल टी फ्लिनका भाइ हुन् ।
सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल फ्लिनको सद्भावना भ्रमण रहेको बताए । शुक्रबार उनले सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम रहेको छ । सैनिक मुख्यालयमा जनरल फ्लिनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ । त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फ्लिनले भेटवार्ता गर्नेछन् । बेलुकी प्रधानसेनापति शर्माले जनरल फ्लिनको सम्मानमा रात्रिभोज गर्ने बताइएको छ ।
जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनी सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी छ । त्यसमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले जनरल फ्लिनलाई साथ दिनेछन् । जनरल फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् ।