FLASH NEWS
  • Loading...

निर्वाचन हुन ९४ दिन बाँकी रहेकोले आयोगले कार्यतालिकाको तयारी थाल्यो

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आन्तरिक कार्यतालिकाको तयारी थालिसकेको छ । निर्वाचन आयोग स्रोतका अनुसार, आयोगले आगामी चैत ६ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, दल दर्तासँगै निर्वाचन आचारसंहिता जारी गर्ने भित्री तयारी गरेको छ ।
आयोगले यस अगाडी नै मोटामोटी निर्वाचन खाका बनाएर प्रधानमन्त्री तथा मन्त्रीहरुलाई व्रिफिङ गरिसकेको थियो ।

त्यसैगरी उसले आगामी वैशाख २ मा राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली बैशाख १४ मा सार्वजनिक गर्ने गरी आन्तरिक निर्वाचन कार्यतालिकाको तयारी गरेको छ ।

त्यसपछि वैशाख ३० मा एकै चरणमा देशभर निर्वाचन हुनेछ ।

यो सम्भावित कार्यसूची आयोगले बनाएको हो । तर यस विषयमा अझै पनि आयोगका पदाधिकारीहरु छलफलमा रहेकोले कार्यतालिकामा सामान्य संशोधन हुनसक्ने आयोग स्रोतले जनाएको छ ।

निर्वाचन घोषणासँगै मतदाता नामावली संकलनको कार्य आयोगले रोकिसकेको छ । अहिले देशभर उसले काहाँ कति मतदाता छन भन्ने तथ्यांकको काम गरिरहेको छ । बढीमा तीन देखि चार साताभित्रै आयोगले मतदाता नामावली सार्वजनिक गर्ने तयारीको काम गरिरहेको आयोग स्रोतले बतायो ।

२०७७ पुस ५ सम्म १८ वर्ष पूरा भएका मतदाता १ करोड ६२ लाख ४३ हजार १ सय १० जना थिए । यसमा महिला ८० लाख ३० हजार ९ सय ८४ र पुरुष ८२ लाख ११ हजार ९ सय ५४ र तेस्रो लिंगी १ सय ७२ जना थिए । त्यसयता पनि मतदाता थपिएका छन् ।

निर्वाचन हुन ९४ दिन मात्रै छ  ।

राजनीतिक दलहरु पनि आ-आफनो आन्तरिक तयारीमा जुटिसकेका छन् । उनीहरुले मुख्य-मुख्य स्थानमा उम्मेदवारका विषयमा पार्टिभित्र आन्तरिक छलफल शुरु गरिसकेका छन् । खासगरी महानगर, उपमहानगरमा पार्टीवाट कसलाई उम्मेदवारी बनाउने भन्नेमा प्राय सवै राजनीतिक दलहरुले आन्तरिक तयारीमा छलफल शुरु गरेका छन् । निर्वाचन घोषणाका कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचन केन्द्रीत कार्यक्रमहरु बनाउन आन्तरिक वैठक, कार्यक्रम बनाईसकेका छन् ।

गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा निर्वाचित भएको थियो । त्यसपछि दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र थियो ।

अहिले सत्ताको नेतृत्व गरिरहेको कांग्रेस स्थानीय तहमा पनि पहिलो पार्टी बन्ने रणनीतिमा जुटेको छ । एमालेबाट माधव नेपाल पक्ष वाहिरिएर अलग पार्टी निर्माण गरेको कारण एमालेलाई यो चुनावमा धक्का लाग्ने अनुमान गरिएको छ । तर उसले स्थानीय तहमा आफ्नो पार्टी नै पहिलो पार्टी बन्ने गरी आन्तरिक रणनीतिमा जुटिसकेको बताएको छ । माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने गठवन्धन निर्माण गरेर चुनावमा जानेवारे छलफलमा जुटेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित