FLASH NEWS
  • Loading...

प्रदेश १ मा ८ मन्त्री थपिए

  • गोल्डेन खबर
  • २ साल अघि
  • १४२ पटक पढिएको
Post Thumbnail


काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । १६ कात्तिकमा मुख्यमन्त्री बनेका उनले आज ८ जना मन्त्री थप्दै मन्त्रिपरिषदलाई पूणर्ता दिएका हुन् । योसँगै प्रदेश १ मा मुख्यमन्त्री राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ ।

जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । मुख्यमन्त्री राइले नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादीबाट तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्री थप गरेका हुन् ।
नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापालाई वन, वातावरण तथा भूसंंरक्षण मन्त्रालय, झापाका ओमप्रकाश सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्रालय र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिममेवारी दिइएको छ ।

नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री नियुक्त भएका छन् । राईले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् । जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् । लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् भने घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे भने सामाजिक विकास राज्यमन्त्री नै रहने छिन् । यसअघि गत आइतबार बसेको मन्त्रीपरिषद बैठकले मन्त्रालय फुटाउने गरेको निणर्य प्रदेश १ सरकारले गुपचुप राखेको थियो ।

सत्ता गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि मुख्यमन्त्री राईले ७ बाट मन्त्रालय फुटाएर १३ मन्त्री र एक राज्यमन्त्री बनाउँदै मन्त्रिपरिषदलाई पूणर्ता दिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई आइतबार नै शपथ ग्रहण गराएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित